नेपाल-भारत सीमाबाट उज्बेक महिलासहित दुई जना पक्राउ
मधेशदूत समाचारदाता---
सोनवर्षा (सितामढी), कात्तिक १९
नेपाल-भारत सीमा सुरक्षामा खटिएका सशस्त्र सीमा बल (एसएसबी) ५१औं बटालियन सोनवर्षा बीओपी क्याम्पका जवानहरूले मंगलबार सीमा क्षेत्रको हनुमान चौक नजिकै पिलर नम्बर ३२६/३२ बाट एक उज्बेक नागरिक महिलासहित एक नेपाली युवकलाई पक्राउ गरेका छन् ।
पक्राउ परेकी महिलाको पहिचान उज्बेकिस्तानकी ३० वर्षीया सोफिया उज्बेकोवाका रूपमा गरिएको छ भने पक्राउ परेका नेपाली युवक १९ वर्षका विकेश कुमार हुन, जो सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२ मोहनपुर ब्रह्मपुरी निवासी दुखा रायका छोरा हुन् ।
एसएसबी कम्पनी कमाण्डर असिस्टेन्ट कमान्डेन्ट पवन खराटेका अनुसार उनीहरूलाई पक्राउ गर्दा बिना दर्ता नम्बरको एक इलेक्ट्रिक स्कुटी, दुई वटा मोबाइल फोन, तीन वटा भारतीय, नेपाली र उज्बेकिस्तानी सिम कार्ड बरामद गरिएको छ । उज्बेक महिलाको साथबाट पासपोर्ट वा भिसाजस्ता अन्य कुनै पनि आधिकारिक कागजात फेला परेको छैन ।
प्रारम्भिक अनुसन्धानमा सोफिया उज्बेकोवा काठमाडौँ हुँदै सर्लाहीको मलंगवा पुगेकी र त्यहाँबाट सोनवर्षा सीमाना पार गरेर भारतको दिल्ली जाने तयारीमा रहेको खुलेको छ । उक्त यात्रामा उनलाई नेपाली युवक विकेश कुमारले सहयोग गरिरहेको एसएसबीले जनाएको छ ।
हाल दुबैजनालाई थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई बुझाइएको छ ।
No comments:
Post a Comment