Translate

Wednesday, November 5, 2025

मलंगवा नगरपालिकाका उपमेयर तथा वडाध्यक्षहरू द्वारा संयुक्त प्रेस विज्ञप्ति जारी, तीन दिनभित्र माग पुरा नभए तालाबन्दीको चेतावनी

   



मनोज यादव----
सर्लाही ,कात्तिक २०

    मलंगवा नगरपालिकाका उपप्रमुख र वडाध्यक्षहरूले नगरपालिकाको कामकाज विधिसम्मत रूपमा नभई एकदलीय शासनशैलीमा केही विचौलियाको इसारामा सञ्चालन भइरहेको आरोप लगाउँदै संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका छन् । उनीहरूले तीन दिनभित्र आफ्ना मागहरू सम्बोधन नभए कात्तिक २३ गतेदेखि नगरपालिका कार्यालयमा तालाबन्दीसहितका दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएका छन्। 
    नगर उपप्रमुख शकुन्तला देवी साह, वडा नं. १ का वडाअध्यक्ष नवलकिशोर राय, वडा नं. २ का धिरेन्द्र साह, वडा नं. ३ का प्रमोद राय यादव, वडा नं. ५ का मो. जुलफ फकार अली, वडा नं. ६ का रामकैलाश राय, वडा नं. ७ का मो. ईशा मिकरानी, वडा नं. ८ का मुकेश कुमार जयसवाल, वडा नं. ९ का चन्देश्वर राय, वडा नं. १२ का रामदरेश राय र कार्यपालिका सदस्य जसिया देवी द्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा नगरपालिका भित्र उत्पन्न विभिन्न समस्या, अनियमितता र जनगुनासो समाधानका लागि तत्काल कदम चाल्न नगर प्रमुखलाई आग्रह गरिएको छ । विज्ञप्तिमा उल्लेख गरिएका प्रमुख १० बुँदाहरूमा तत्काल समाधान गर्नुपर्ने माग गरिएको छ ।
  विज्ञप्तिअनुसार, श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका शिक्षक–विद्यार्थीको समस्या समाधान गरी नियमित पठनपाठन सुनिश्चित गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता लाभग्राहीका खातामा EFT मार्फत रकम पठाउनुपर्ने, र प्रमुख प्रशासकीय अधिकृत तत्काल हाजिर गराउनुपर्ने माग गरिएको छ ।
   त्यस्तै, प्राविधिकबीचको आन्तरिक विवादका कारण योजनाको लागत अनुमान र बजेट कार्यान्वयनमा ढिलाइ भइरहेकोले तत्काल समाधान गर्नुपर्ने, बिजुली बत्ती र नाला सरसफाइका लागि विनियोजित रकम वडामा बाँडफाँड गर्नुपर्ने, र आगामी छठ पर्वका लागि घाट सजावट कार्यक्रम तुरुन्त लागू गर्नुपर्ने पनि माग गरिएको छ ।
  विज्ञप्तिमा थप भनिएको छ, वडास्तरमा कार्यरत कर्मचारीहरूको समस्या समाधान, नगरपालिकाका डोजर र सवारी साधनको व्यक्तिगत प्रयोग रोकथाम, तथा मासिक दुईपटक कार्यपालिकाको अनिवार्य बैठक बसाल्ने व्यवस्था गर्नुपर्ने पनि तत्काल लागू गर्न नगर प्रमुखसँग माग गरिएको छ ।
  उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँ र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई समेत उक्त प्रेस विज्ञप्तिको प्रतिलिपि पठाई घटनाबारे जानकारी गराएका छन् ।
  विज्ञप्तिमा अन्त्यमा भनिएको छ, “तीन दिनभित्र समस्याहरूको समाधान नभए हामी सामूहिक रूपमा मलंगवा नगरपालिका कार्यालयमा तालाबन्दीसहित विभिन्न दबाबमूलक कार्यक्रम गर्न बाध्य हुनेछौं।”



No comments:

Post a Comment