कटहरियामा जनप्रतिनिधि र कर्मचारीको एउटै माग : तलब–भत्ता नआएसम्म तालाबन्दी जारी रहने
दिपेश साह----
रौतहट, कार्तिक १९
रौतहटको कटहरिया नगरपालिका मा करार तथा ज्यालादारी कर्मचारीहरूले सुरु गरेको तालाबन्दी जारी रहेको छ । लगातार एक सातादेखि चलिरहेको आन्दोलनमा नगरका वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरू समेत सहभागी भई कर्मचारीहरूको पक्षमा ऐक्यबद्धता जनाएका छन् ।
कर्मचारीहरूले विगतदेखि नै माग गर्दै आएका बक्यौता तलब–भत्ता तत्काल भुक्तानी गर्नुपर्ने विषयमा जनप्रतिनिधिहरू पनि एउटै मतमा उभिएका छन्। उनीहरूको भनाइमा, “तलब–भत्ता नपाउँदासम्म तालाबन्दी अन्त्य हुँदैन।
कटहरिया न.पा वडा नं. १ का अध्यक्ष भूपेन्द्र महतो, वडा नं. २ का अध्यक्ष हरिन्द्र साह, वडा नं. ३ का अध्यक्ष श्यामाकान्त यादव, वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं. ५ का अध्यक्ष सर्फलाल गुप्ता, वडा नं. ६ का अध्यक्ष जयराम चौधरी, वडा नं. ७ का अध्यक्ष सहिद मियाँ धोबी, वडा नं. ८ का अध्यक्ष समिश बिक्रम शाह, साथै वडा सदस्य रामेश्वर राय यादव र कार्यपालिका सदस्य मनोज जयसवाल लगायतका जनप्रतिनिधिहरले ती कर्मचारीहरुको आन्दोलनमा एक्यवद्धता जनाएका हुन्। यी सबै जनप्रतिनिधिहरूले आन्दोलनरत कर्मचारीहरूका मागलाई वैधानिक र न्यायोचित ठहर गर्दै तत्काल समाधान गर्न नगर प्रशासन र सम्बन्धित मन्त्रालयसँग आग्रह गरे। उनीहरूले भने, “नगरपालिका चलाउने जिम्मेवारी हाम्रा काँधमा भए पनि कर्मचारीहरूको हक अधिकार सुरक्षित नगरी विकास र प्रशासनिक काम अगाडि बढाउन सम्भव छैन।”
यस विषयमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया नआएको जनाइएको छ।
गत बुधबारदेखि कर्मचारीहरूले नगरपालिकाक कार्यालय र सबै ९ वटा वडा कार्यालयमा तालाबन्दी गर्दै दैनिक धर्ना दिइरहेका छन्। उनीहरूको भनाइमा, “गत वर्षको आन्दोलनका क्रममा दिपावली र छठअघि बाँकी तलब–भत्ता भुक्तानी गर्ने लिखित आश्वासन दिइए पनि त्यो कार्यान्वयन नभएकोले हामी पुनः आन्दोलनमा उत्रिएका हौं।”
कर्मचारीहरूले लामो समयदेखि सेवामा खटिएर पनि पारिश्रमिक नपाउँदा उनीहरूको जीवनयापन कष्टकर भएको गुनासो गरेका छन्। कतिपयले घरभाडा, विद्यालय शुल्क र दैनिक खर्च चलाउन पनि कठिनाइ भएको दुखेसो पोखेका छन् ।
यसैबीच, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फिर्ता बोलाएपछि कार्यालयको नेतृत्व शून्य बनेको छ। प्रशासनिक नेतृत्व नहुँदा कागजी कामदेखि निर्णय प्रक्रियासम्म सबै कार्य ठप्प भएका छन्।
आन्दोलनरत कर्मचारी र जनप्रतिनिधिहरूले नयाँ प्रशासकीय अधिकृत तुरुन्त पठाइ नगरको प्रशासनिक गतिशीलता पुनःस्थापना गर्न माग गरेका छन्। उनीहरूको भनाइमा, “नगरप्रमुख र प्रशासनबीचको समन्वय अभावले समस्या थपिएको छ। यदि तत्काल समाधान खोजिएन भने आन्दोलन अझ व्यापक बन्न सक्छ।”
तालाबन्दीका कारण नगरपालिकाबाट प्रवाह हुने सबै सेवा र प्रशासनिक काम ठप्प भएका छन्। नागरिकता सिफारिस, जन्म–मृत्यु दर्ता, कर बुझाउने, व्यवसाय दर्ता, र सामाजिक सुरक्षा भत्ता वितरणजस्ता काम रोकिएपछि सेवाग्राहीहरू निराश भएका छन्।
No comments:
Post a Comment