चाडपर्व सकिएसँगै सर्लाहीका कार्यालयहरुमा कामको चाप बढ्यो जिल्ला प्रशासनदेखि मालपोतसम्म सेवाग्राहीहरुको बाक्लो भिड
मधेशदूत समाचारदाता
सर्लाही, कात्तिक १९
तिहार र छठपर्व सकिएसँगै सर्लाहीका सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड बढेको छ। चाडपर्वको बिदा सकिए लगत्तै विभिन्न काम लिएर सेवाग्राहीहरु धमाधम कार्यालयहरूमा पुग्न थालेका छन्।
सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन, मालपोत, नापी, अदालत, जिल्ला प्रहरी, यातायात व्यवस्था, निर्वाचन लगायतका कार्यालयहरु तथा सदरमुकाम बाहिर इलाका प्रशासन हरिवन र बरहथवा,हरिवन स्थित मालपोत,विभिन्न इलाका प्रहरी लगायत कार्यालयहरुमा बिहानैदेखि सेवाग्राहीहरुको भीड देखिन थालेको छ। कर्मचारीका अनुसार चाडपर्वको लामो बिदापछि स्थगित रहेका काम एकैचोटि सुरु भएपछि चाप अस्वाभाविक रूपमा बढेको छ ।
मलंगवास्थित नापी कार्यालयका प्रमुख सञ्जय मानन्धरका अनुसार गत आइतबारदेखि नै नापी र मालपोत कार्यालयमा साबिकझैं चहलपहल बढेको छ। मलंगवा, हरिवन र बरहथवाका नापी तथा मालपोत कार्यालयमा जग्गा सम्बन्धि काम लिएर आउने सेवाग्राहीहरुको घुइँचो लागेको छ।
त्यस्तै, सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा पनि सेवाग्राहीहरुको भीड बढेको छ। कार्यालयले दैनिक करिब दुई सय जनालाई नागरिकता वितरण गर्दै आएको छ भने राष्ट्रिय परिचयपत्रका लागि पनि उत्तिकै चाप रहेको सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले जानकारी दिएका छन्।
पोखरेलका अनुसार सेवाग्राहीको भीड अत्यधिक बढ्दा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या देखिएको छ।
केही दिन अगाडी भएको जेनजीआन्दोलनका क्रममा आगजनी र तोडफोड भएका लालबन्दी, हरिवन, ईश्वरपुर, चन्द्रनगर र बरहथवा नगरपालिकाका कार्यालयहरू अहिले पुनः सञ्चालनमा आएका छन्। तोडफोड तथा जलेका वडा कार्यालयले व्यक्तिगत घटना दर्ता लगायतका सेवा पुनः सुरु गरेपछि त्यहाँ पनि सेवाग्राहीको चाप बढेको छ।
No comments:
Post a Comment