Translate

Tuesday, November 4, 2025

सर्लाहीमा हालसम्म २३ सयभन्दा बढीको मतदाता नामावली संकलन



मधेशदूत समाचारदाता––
सर्लाही, कात्तिक १९

    सर्लाहीमा हालसम्म २३ सयभन्दा बढी व्यक्तिले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराइसकेका छन्। जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार आश्विन १० गतेदेखि कात्तिक १७ गतेसम्म जम्मा २३ सय ६५ जनाको नाम दर्ता भइसकेको हो।
  जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहका अनुसार दशैं, तिहार र छठपर्वको बिदाका कारण नामावली संकलन कार्य केही प्रभावित भए पनि कार्यालय खुलेपछि दैनिक औसत १७० देखि २०० जना नयाँ नाम दर्ता भइरहेको छ। सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न कार्यालयले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्दै आएको निर्वाचन अधिकारी साहले जानकारी दिए।
   सरकारले हालैको अध्यादेशमार्फत मतदानका लागि योग्य ‘जेनजी पुस्तालाई’ समेत आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। यससँगै मतदाता नामावलीमा नाम दर्ता गर्न आउने युवाहरूको भीड सदरमुकाम मलंगवास्थित जिल्ला निर्वाचन कार्यालयमा उल्लेख्य रूपमा बढेको छ।
  निर्वाचन आयोगका अनुसार यसपटक देशभरका नागरिकले नेपालको जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमा गएर नामावली दर्ता र अद्यावधिक गर्न सक्ने सुविधा पाउनेछन्। १६ वर्ष पूरा भई नेपाली नागरिकता प्राप्त व्यक्तिले नाम दर्ता गराउन सक्ने भए पनि आगामी निर्वाचनमा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्नेछ। नामावली दर्ता र अद्यावधिक कार्य कात्तिक ३० गतेसम्म चल्ने छ।
  तर, जिल्लाभरका सेवाग्राहीलाई सदरमुकाममा मात्र नाम दर्ता गर्नुपर्ने व्यवस्थाका कारण टाढा र दुर्गम क्षेत्रका नागरिकहरूलाई समस्या परेको गुनासो आएको छ। धेरैजसो सेवाग्राहीले एकैदिनमा काम नसकिँदा मलंगवामै रात बिताउनुपर्ने र खर्च बढ्ने बताइरहेका छन्।
   निर्वाचन अधिकारी साहका अनुसार जिल्लास्थित कार्यालयमार्फत मात्रै नाम दर्ता र अद्यावधिक गर्न निर्देशन आएकोले सेवाग्राहीको भीड बढेको र यसकै कारण यस्ता समस्या देखा परेका हुन्। 

No comments:

Post a Comment