बागमतीमा कात्तिक स्नान गर्न आएकाको घुइँचो परम्परागत दोहोरी र झाँक्री संस्कार हराउँदै, भक्तजनको भीड भने यथावत्
मधेशदूत समाचारदाता––
सर्लाही, कात्तिक १९
आज कार्तिक पूर्णिमाको अवसरमा सर्लाही र रौतहट जिल्लाको सिमा भएर बग्ने बागमती नदीमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ। कात्तिक स्नानव्रत अर्थात् पूर्णिमाका दिन बागमतीमा स्नान गर्न र मेला भर्नका लागि विभिन्न जिल्ला सहित भारतका विभिन्न स्थानबाट समेत ठुलो संख्यामा भक्तजनहरू आएका छन्।
बागमती वारि सर्लाहीको कर्मैया र पारी रौतहटको नुनथर नजिकको घाटमा बिहानैदेखि श्रद्धालुहरूको भीड देखिएको छ। स्थानीय होटल सञ्चालकका अनुसार हिजो (मंगलबार) दिउँसोदेखि नै विभिन्न ठाउँबाट मानिसहरू आउन थालेका थिए।
पूर्व–पश्चिम राजमार्गको सर्लाही, रौतहट र बारा खण्डमा आज बिहानदेखि नै बागमतीतर्फ जाने मोटरसाइकल, ट्याक्टर, बसलगायतका सवारीसाधनहरूको आवागमन बाक्लो देखिएको छ। कात्तिक स्नानकै अवसरमा बागमती नगरपालिका–१२ स्थित बागमती नदी किनारमा ऐतिहासिक मेला पनि लाग्ने परम्परा रहँदै आएको छ।
तर, स्थानीयका अनुसार पछिल्ला वर्षहरूमा बागमतीमा स्नान गर्न र मेला भर्न आउनेको संख्या घट्दै गएको छ। पहिलाकोजस्तै धाँमी–झाँक्रीहरू आउने,झारफुक गर्ने तथा पुरुष र महिलाहरु सामुहिक दोहोरी गीत गाउने र नाच्ने परम्परागत गतिविधिहरू अब झण्डै हराउँदै गएको बुढापाकाहरू बताउँछन्। केही वर्षअघि सम्म कात्तिक मेला दोहोरी प्रतियोगिताका लागि चर्चित मानिन्थ्यो, तर पछिल्लो समय त्यो उत्साह हराएको उनीहरूको अनुभव छ।
भक्तजनहरूको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिले प्रहरीले विशेष सतर्कता अपनाएको छ। स्नानका लागि छुट्याइएका घाट र मेला परिसरमा इलाका प्रहरी कार्यालय कर्मैया र हरिवनबाट अतिरिक्त प्रहरीबल परिचालन गरिएको छ।
No comments:
Post a Comment