हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्तीप्रति जनआक्रोश, निर्णायक आन्दोलनमा उत्रिए जनता
मलंगवामा अनिश्चितकालीन हुलाकी सडक बन्द
मनोज यादव---
सर्लाही ,कात्तिक १९
लामो समयदेखि हुलाकी राजमार्गको निर्माण कार्यमा भइरहेको ढिलासुस्तीका कारण स्थानीयवासीले अन्ततः आन्दोलनको बाटो रोजेका छन्। बुधबार विहान ७ बजेदेखि मलंगवा नगरपालिका अन्तर्गतको वडा न-८ स्थित राजश्री चौकमा "हुलाकी राजमार्ग मलंगवा नगर संरक्षण तथा सुधार समिति"द्वारा अनिश्चितकालीन बन्द सुरु गरिएको छ।
समितिले सम्पूर्ण नगरबासीलाई आन्दोलनमा सहभागीता जनाउन भन्दै सार्वजनिक सूचना समेत जारी गरेका थिए । विगत धेरै वर्षदेखि यहाँ जनताहरु हुलाकी राजमार्गका लागि आन्दोलनरत रहेको तर समस्या समाधानमा सरकारले कुनै चासो नदेखाएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको समितिले बताए । अबको आन्दोलन निर्णायक भएकोले नगरपालिकाका सबै वडाअध्यक्षहरू, स्थानीय नगरवासी, युवा, विद्यार्थी, व्यापारी, बुद्धिजीवी लगायत सबैलाई सोही सूचना मार्फत सहभागी हुन आह्वान गरिएको समितिले जनाएको छ।
मलंगवा वडा नं–९ स्थित टावर चौकदेखि रिङरोड हुँदै वडा नं–२ कृष्णा चौकसम्मको सडक र वडा नं–७ बडकी मुसैलीस्थित पोखरी छेउको सडकको निर्माण कार्य वर्षौंदेखि अधुरो रहेको स्थानीयहरूको गुनासो छ।
केही महिना अगाडी वडा न-२ का बासिन्दाहरुले सडक जाम गरेर प्रदर्शन गरेपछि ठेकेदार चन्द्रिका साहले आन्दोलनरत स्थानीयहरूसँग पाँच दिनभित्र काम सुरु गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै प्रगति नभएपछि जनस्तरमा असन्तोष चुलिएको छ।
यसअघि पनि वडा नं–२ का स्थानीय महिलाहरूले “झाडू र कुचो आन्दोलन” गर्दै सडक निर्माणको माग गरेका थिए। तर बारम्बारको चेतावनी र सम्झौतापछि पनि कार्यान्वयन नभएपछि समिति र स्थानीय बासिन्दाले यसपटक आन्दोलनलाई निर्णायक रुप दिन अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन्।
आन्दोलनरत समितिले हुलाकी राजमार्गको निर्माण कार्य तत्काल सुरु नभएसम्म आन्दोलन फिर्ता नहुने चेतावनी दिइएको छ। बन्दका कारण मलंगवा अन्तर्गतको हुलाकी सडक भएर गुड्ने सबैखाले यातायातका साधनहरु ठप्प भएका छन् ।
No comments:
Post a Comment