प्रादेशिक अस्पतालको सम्पत्ति दुरुपयोग प्रकरण : छानबिन समितिको प्रतिवेदन तयार
मधेशदूत समाचारदाता---
सर्लाही,कात्तिक १७
सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा सरकारी सम्पत्तिको दुरुपयोग भएको आरोपमा बनेको छानबिन समितिको प्रतिवेदन तयार भएको छ।प्रतिवेदन सोमबार बुझाउने तय गरिएको भएपनि नयाँ आउनुभएका प्रमुख जिल्ला अधिकारी सोही दिन हाजिर हुनु भएको र दिनभर भेटघाटको कार्यक्रमहरु चलेकोले प्रतिवेदन मंगलबार बुझाउने समितिले जनाएको छ।
गत कात्तिक ७ गते अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) संजीव कुमार सिंहले अस्पतालका सामानहरू निजी प्रयोजनमा प्रयोग गरेको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले तत्काल छानबिन समिति गठन गरेको थियो।
प्रमुख प्रशासकीय अधिकृत जय किशोर साहको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो। तर, चाडपर्वका कारण काम ढिलो भएको समितिले जनाएको छ।
मेसु सिंह अस्पतालमा कार्यरत रहँदा पटक–पटक विवादमा तानिँदै आएका थिए। बिरामीलाई बाहिरका क्लिनिक वा फार्मेसीमा पठाउने, कमिशनमा रिफर गर्ने लगायतका आरोप उनीमाथि पटकपटक लाग्दै आएका छन्।
हालै अवकाश नजिकिएका सिंहले अस्पतालका सरकारी सामग्रीहरू सरकारी गाडीमै घर पुर्याइरहेको भिडियो सार्वजनिक भएपछि उनी फेरि विवादको केन्द्रमा परेका थिए। सो भिडियो सार्वजनिक भएपछि उनले एक मिडियासँगको अन्तरवार्तामा ती सामग्री घर लैजाने कुरा स्वीकार गर्दै त्यसलाई ‘असजिलो परिस्थितिको कारण भएको गल्ती’का रूपमा व्याख्या गरेका थिए।
छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि प्रादेशिक अस्पतालमा भएका अनियमितताको वास्तविकता स्पष्ट हुने बताइएको छ।
No comments:
Post a Comment