सर्लाहीमा नयाँ प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाद्वारा कार्यभार ग्रहण, जिल्लाको समग्र अवस्थाबारे लिए जानकारी
मनोज यादव---
सर्लाही, कात्तिक १८
सर्लाही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडियो) का रूपमा रामुराज कडरियाले सोमबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। कार्यभार ग्रहणलगत्तै उनले जिल्लाको समग्र अवस्थाबारे विस्तृत जानकारी लिँदै सुशासन र सेवाप्रवाह सुधारका उपायहरूमा जोड दिएका छन्।
गाेरखाबाट सरुवा भई सर्लाही आइपुगेका कडरियालाई जिल्ला प्रशासन कार्यालय मलंगवामा सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि भट्टराईसहितका कर्मचारीहरूले स्वागत गरेका थिए। कार्यभार सम्हालेकै दिन उनले जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार तथा राजनीतिक दलका प्रतिनिधिहरूसँग परिचयात्मक तथा समसामयिक छलफलसमेत गरेका छन्।
प्रजिअ कडरियाले सुशासन कायम गर्नका लागि तत्काल लागू गर्न सकिने सुधारका कदमसमेत तय गर्दै “तत्काल सुधार कार्ययोजना, २०८२” तयार गर्न निर्देशन दिएका छन्। उनले जिल्लाका सबै कार्यालय प्रमुखहरूलाई तीन दिनभित्र आफ्ना-आफ्ना मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सुधार कार्ययोजना पठाउन आग्रह गरेका छन्।
उनले कार्यालयमा पोशाक र परिचयपत्रसहित उपस्थित हुने, सेवाग्राहीसँग मर्यादित व्यवहार गर्ने, र गुनासो रहित सेवा प्रवाह सुनिश्चित गर्ने जस्ता व्यवहारिक सुधारका निर्देशसमेत दिएका छन्। उनका अनुसार नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्नसक्ने किसिमले सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेछ।
प्रजिअ कडरिया सर्लाहीकै बरहथवा नगरपालिका निवासी हुन्। गृह मन्त्रालयले केही दिनअघि ३६ जना सहसचिवको सरुवा गर्दा उनलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको हो। यसअघि सर्लाहीमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत तुलसीबहादुर श्रेष्ठको गोरखा सरुवा भएको थियो। श्रेष्ठलाई गत बिहीबार औपचारिकरूपमा बिदाइ गरिएको थियो।
नयाँ प्रजिअ कडरियाले कार्यभार सम्हालेसँगै सर्लाहीमा प्रशासनिक सुधार र प्रभावकारी सेवा प्रवाहको नयाँ अपेक्षा जागेको देखिन्छ।
No comments:
Post a Comment