Translate

Wednesday, November 5, 2025

सडक बत्ती विहीन मलंगवा शहर र अन्धकारमा डुबेका नागरिक

  


मधेशदूत समाचारदाता––
सर्लाही, कात्तिक २०

   सर्लाहीको सबैभन्दा पुरानो पालिकाको रुपमा परिचित सदरमुकाम मलंगवा अहिले अन्धकारको सहर बनेको छ । प्रशासनिक रूपमा जिल्लाको मुटु मानिने मलंगवा नगरपालिका क्षेत्रमा नापी कार्यालय, मालपोत कार्यालय, ट्राफिक कार्यालयदेखि लिएर नगरका मुख्य टोल र बजारसम्म कुनै पनि स्थानमा सडक बत्ती जडान गरिएको छैन । 
  दैनिक हजारौं सेवाग्राहीको आवत–जावत हुने  ती क्षेत्रमा नगरपालिकाबाट यति बेवास्ता भइसकेको छ कि यहाँका सडक र चोकहरू साँझ पर्नासाथ जोखिम क्षेत्रमा रूपान्तरण हुन्छन् ।
  शहरका प्रमुख सरकारी कार्यालयहरूकै वरिपरि यस्तो अवस्थाले स्थानीय प्रशासन र नगर कार्यपालिकाको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ । नागरिकहरू भन्छन्, “सडक बत्ती त टाढाको कुरा, पैदल यात्रुका लागि सुरक्षित बाटो समेत छैन । हिँड्दा ठोक्किने, सवारीसाधनले ठक्कर दिने डर सधैं रहन्छ ।”
   नगरका विभिन्न बजार क्षेत्र, जस्तै मालपोत कार्यालय, अस्पताल रोड, ट्राफिक कार्यालय, राजश्री सिनेमा चौक, रिङ्ग रोड(हुलाकी सडक) आसपासका सडकहरू साँझ पर्ने बित्तिकै पूर्णरूपमा अन्धकारमा डुब्छन् । यसले रातमा सवारी दुर्घटनाको जोखिम अत्यधिक बढाएको छ । व्यापारी र सर्वसाधारणले नगरपालिकालाई पटक–पटक बत्ती जडान गरीदिन माग गर्दा पनि कुनै सुनवाइ नभएको गुनासो गरेका छन् ।
    यहाँका स्थानीयबासीहरूले नगरपालिकाको लापरबाहीप्रति कडा आक्रोश व्यक्त गरेका छन् ।उनीहरूले “अब पनि सुधार नभए सामूहिक आन्दोलन गर्न बाध्य हुनुपर्ने चेतावनी दिएका छन् ।
  अत्यावश्यक पूर्वाधारका रूपमा रहेको सडक बत्ती र पैदल मार्गको निर्माण नहुनु केवल बेवास्ता मात्र नभइ नगरपालिका द्वारा नागरिक अधिकारमाथिको खुलेआम खिल्ली उडाउने कार्य भएको स्थानीय युवा सोहन झाले बताए ।उनले भने,"सम्बन्धित निकायले तत्काल ध्यान नदिए  नगरवासीको धैर्य अब दीर्घकालसम्म टिक्ने छैन"। 


No comments:

Post a Comment