सर्लाहीमा जनमत पार्टीलाई ठूलो धक्का
मधेशदूत समाचारदाता----
सर्लाही, कात्तिक २१
सर्लाहीमा जनमत पार्टीलाई ठूलो धक्का लागेको छ। पार्टीभित्र बढ्दो आन्तरिक असन्तुष्टि र असमझदारीका बीच सर्लाहीका करिब ४० जना नेताहरूले सामूहिक राजीनामा दिएका छन्। पार्टीका स्थानीय तहदेखि राष्ट्रिय परिषद् तहसम्मका नेताहरूको सामूहिक राजिनामा दिएका हुन्।
राजीनामा दिने नेतामध्ये राष्ट्रिय परिषद् सदस्य ई. त्रिभुवन सिंह, प्रतिनिधि सभा सर्लाही क्षेत्र न–४ का पूर्व उम्मेदवार रामबाबु राय, प्रदेश सभा क्षेत्र ४(ख) का उम्मेदवार प्रमोद यादव, प्रदेश सभा क्षेत्र ३(ख) का उम्मेदवार सत्रुधन साह, पूर्व डीएसपी नरेश महतो र गगनदेव साह लगायतका अग्रणी नेताहरू रहेका छन्।
यी नेताहरूले नेतृत्वमाथि संगठनात्मक कमजोरी, निर्णय प्रक्रियामा एकल हस्तक्षेप, र स्थानीय कार्यकर्ताको सुझावलाई बेवास्ता गरेको आरोप लगाउँदै राजीनामा दिएको बताएका छन्। उनीहरूका अनुसार पार्टीभित्रको नीति तथा कार्यशैलीले जनताको भावना विपरीत जाने गरेको र पार्टी संरचना कमजोर हुँदै गएकोले यस्तो कदम चालिएको हो।
राजीनामापछि ती नेताहरू नयाँ राजनीतिक विकल्पको खोजीमा रहेको बताइएको छ। तर, उनीहरू कुन पार्टी वा राजनीतिक समूहतर्फ लाग्ने भन्ने विषयमा भने हालसम्म औपचारिक रूपमा खुलासा गरेका छैनन्।
सर्लाहीमा जनमत पार्टीको यो सामूहिक राजीनामालाई स्थानीय राजनीतिक वृत्तले पार्टीका लागि ठूलो चुनौतीका रूपमा लिएको छ।
No comments:
Post a Comment