निर्माण उपकरण र गाडीहरु स्थानीयको नियन्त्रणमा , काम सक्किएपछि सडक निर्माणमा संलग्न सबैलाई सम्मानपूर्वक बिदाइ गर्ने समितिको प्रतिबद्धता
मनोज यादव---
सर्लाही,कात्तिक २१
मलंगवाका स्थानीयका लागि हुलाकी राजमार्गको अधुरो कालोपत्रे सडक, कुनै सपना जस्तो देखिन्छ। निर्माणाधीन सडकको काम कहिल्यै सकिएको छैन। यसको कारण ठेकेदारको लापरवाही र जिम्मेवार निकायको बेवास्ता हो, जसले स्थानीय बासिन्दा र यात्रुलाई हिलो र धुलोको दु:खद अनुभवमा डुबाइराखेको छ।
मलंगवाको वडा नं. ९ को टावर चौकदेखि वडा नं. २ को झण्डा बजार (पब्लिक स्कूल) सम्मको सडक निर्माण अधुरो छ। सडक जस्तो सामान्य सुविधा, जसले दैनिक यातायातको सहजता र सफाइको सुनिश्चितता दिनुपर्ने थियो, आज भने स्थानीय जनतालाई समस्यामा पारिरहेको छ।
मलंगवाका नागरिक हरेक वर्ष धुलो र हिलोमा संघर्ष गर्दै आइरहेका छन्। यस बीच, हुलाकी राजमार्गका अन्य भागमा कालोपत्रे काम पूरा भइसकेका छन्, तर मलंगवा भने सधैं 'पछाडि' नै परेको छ।
यो मुद्दामा स्थानीय महिला र युवाहरुले पनि आवाज उठाएका छन्। केहि महिना अगाडि, वडा नं. २ का स्थानीय महिलाहरुले सडक जाम गर्दै झाडु र कुचोको माध्यमबाट विरोध प्रदर्शन गरेका थिए । यस्ता उपायहरु गर्दा पनि कुनै समाधान नआएपछि स्थानीय युवाहरुले मलंगवा नगर संरक्षण तथा सुधार समिति गठन गरि आन्दोलनको रफ्तारलाई अघि बढाएको छ।
सोही समितिको अगुवाईमा बुधबार बिहानदेखि मलंगवामा अनिश्चितकालीन चक्काजाम सुरु गरिएको छ । यस आन्दोलनमा स्थानीय जनप्रतिनिधिहरु समेत सक्रिय सहभागी भएका छन् । वडा न-८ र २ को बिचमा पर्ने राजश्री सिनेमा चौकबाट सुरु भएको आन्दोलनको पहिलो दिन विभिन्न वडाका वडाअध्यक्षहरुले पनि साथ दिएका थिए। सडक जाम गरेको केही घण्टा नबित्दै ठेकेदारले निर्माणमा प्रयोग हुने उपकरण र टिपर ल्याएर निर्माण सामग्री खसाल्न थालेपछि तत्कालका लागि आन्दोलन रोकिएको थियो।
यद्यपि, आन्दोलनमा सहभागी स्थानीय युवा सोहन झाका अनुसार, यो आन्दोलन पूरा रुपमा थमेको छैन। "यो निर्णायक आन्दोलन हो । जबसम्म सडक निर्माण पूर्ण रुपमा सम्पन्न हुँदैन, हामी निगरानी राख्नेछौं," उनले भने,चाहे त्यो काम ७ दिनमा सम्पन्न होस् या चाहे १० दिनमा हामी निरन्तर निगरानीमा रहने छौं । काम सम्पन्न भइसकेपछि निर्माण कार्यमा लागेका ठेकेदार सहित सम्पूर्ण कामदारहरुलाई गन्यमान्य ब्यक्ति र स्थानीयहरुको उपस्थितिमा मलंगवा नगर संरक्षण तथा सुधार समिति द्वारा टीका, माला र खाँदा(गमछा) ओढाएर सम्मानपुर्वक बिदाइ गर्ने छौं झा ले भने।
वडा न-२ का वडाअध्यक्ष धिरेन्द्र साहका अनुसार हुलाकी सडकको काम पूरा नहुन्जेलसम्म निर्माणकार्यमा प्रयोग हुने उपकरण , डोजर र टिपरहरु वडा न-२ को वडा कार्यालयमा रहने र त्यहाँ नअटेका गाडीहरु जिल्ला प्रहरी कार्यालयको कम्पाउण्डमा पार्किङ गरि प्रहरीको निगरानीमा राखिने छ।
सडक निर्माणको लागि हिमडुङ एन्ड ठोकर-हिरा एन्ड नमिता जेभीलाई २०७३ सालमा ठेक्का दिइएको थियो। परियोजना २०७६ भित्र सक्नु पर्ने थियो, तर काम अझै अलपत्र छ। सडक विभागले सात पटक म्याद थप गरिसकेको छ।
सडक विभागले सडक कालोपत्रेका लागि अहिलेसम्म सात पटक म्याद थप गरिसकेको छ । निर्माण व्यवसायीलाई अन्तिम पटक दिइएको म्याद गत असोज ३१ गते सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले जनाएको छ ।
कार्यालयका इन्जिनियर रञ्जित रायले ठेकेदारलाई आठौँ पटक पुनः म्याद प्रदान गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए । ठेक्का थप गर्ने प्रक्रिया अगाडि बढेकै अवस्थामा जेनजी आन्दोलने गर्दा रोकिएको रायले बताए । उनले भने,"अहिले म्याद थप्ने र ठेकेदारलाई काम गर्न ताकिता दिने काम भइरहेको छ ।”
समितिले अनिश्चितकालीन आन्दोलन जारी राख्ने चेतावनी दिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठेकेदार चन्द्रिका साहलाई कार्यालयमा बोलाएर स्थानीयसँग छलफल गराएको थियो। यस छलफलमा, ठेकेदारले सडक कालोपत्रेको बाँकी काम तत्कालै अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
हुलाकी राजमार्ग निर्देशनालयका इन्जिनियर रायका अनुसार, मलंगवा बजारको ७०० मिटर सडकमा अहिलेसम्म बेस बिछ्याउने काम मात्रै भएको छ। यो सडक परियोजना यात्रु र स्थानीय को लागि हर्ष र सन्तुष्टिको कारण बन्ने आशा थियो, तर अहिले यो संघर्ष र आन्दोलनको रूप लिइसकेको छ। मलंगवाका जनताको समस्यालाई बुझ्न र समाधान गर्न विभिन्न निकायलाई अझै ठोस कदम चाल्नुपर्ने अवस्था आइसकेको छ।

No comments:
Post a Comment