Translate

Monday, November 17, 2025

उखु किसान र उद्योगीबीच चार बुँदे सहमति, बक्यौता भुक्तानी एक महिनाभित्र गर्ने प्रतिबद्धता

  



मनोज यादव — 
सर्लाही, मंसिर २

    सर्लाहीमा उखु किसानले उठाउँदै आएको बक्यौता भुक्तानीको माग समाधानतर्फ अघि बढ्दै गएको छ। धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगले बुझाउन बाँकी रहेको रकमका कारण केही दिनयता धर्नामा बसेका किसान र उद्योगीबीच महत्वपूर्ण चार बुँदे सहमति भएको छ।
   जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा बसेको बहुपक्षीय छलफलमा यस वर्ष उखु क्रसिङका दौरान हुने प्रदूषण नियन्त्रणका उपाय तत्काल लागू गर्ने, गत वर्षको चिनी मूल्य निर्धारणपछि बाँकी रहेको रकम किसानलाई उपलब्ध गराउने, साथै अघिल्ला उद्योगपति राकेशकुमार अग्रवालले रोकिराखेको भुक्तानी एक महिनाभित्र पुरा गर्ने प्रतिवद्धता जनाइएको हो।
   उद्योग सञ्चालक शैलेन्द्र गुप्ता पनि छलफलमा उपस्थित रहँदै मिल सञ्चालन सहज बनाउन सबै पक्ष मिलेर अघि बढ्ने सहमति जनाएका छन्।
   सहमतिपछि उखु किसानहरु आफूहरूमाथि रहेको आर्थिक दबाब केही कम हुने विश्वासमा छन्। आन्दोलनको कदम तत्काल स्थगित गरिएको जानकारी दिंदै अगुवा किसान रामआधार रायले भने,“अब उद्योगले समयमै पैसा दिइन्छ भने आन्दोलन गर्नुको अर्थ रहँदैन, हामी समाधानको प्रतीक्षामा छौं।”
  यससँगै लामो समयदेखि चलेको किसान–उद्योगी विवाद समाधानतर्फ मोडिन थालेको देखिएको छ।

No comments:

Post a Comment