Translate

Tuesday, November 18, 2025

"अपरेशन चार्ली" को ठूलो सफलता: सर्लाहीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहको पर्दाफास, ४ भारतीयसहित ९ जना पक्राउ

 



मनोज यादव
सर्लाही, मंसिर ३

   सर्लाही प्रहरीले ‘अपरेशन चार्ली’ मार्फत जिल्लाका विभिन्न स्थानमा जडान भएका कृषि प्रयोजनका बिजुली ट्रान्सफर्मर चोरी गर्ने गिरोहको सफल पर्दाफास गरेको छ। पक्राउ परेकाहरुमा ४ भारतीय नागरिकसहित ९ जना रहेका छन्। प्रहरीले चोरीमा प्रयोग भएको औजार, चोरी गरिएका ट्रान्सफर्मरका तार र दुई थान ई–रिक्सा समेत बरामद गरेको छ।
प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का ले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “जिल्लामा ट्रान्सफर्मर चोरीका घटनाहरू बढेपछि ‘अपरेशन चार्ली’ सञ्चालन गरिएको थियो। सर्लाही, महोत्तरी, बारा र पर्सा क्षेत्रमा व्यापक अनुसन्धान गरी गिरोहलाई नियन्त्रणमा लिइएको हो।”
उक्त गिरोहले चोरी गरेका ट्रान्सफर्मरका तारहरू वीरगंजस्थित कवाड पसलमा बेच्ने र केही तामालाई पगालेर भाँडा बनाउने गरेको पाइएको छ।
पक्राउ परेकामध्ये बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ का कृष्ण श्रीवास्तव आफ्नै गढिमाई मेटल प्रा.लि. का सञ्चालक समेत रहेका छन्। उनी चोरी गरिएका ट्रान्सफर्मरका तामालाई आफ्नै उद्योगमा पगालेर विभिन्न भाँडा बर्तन बनाइ बिक्री गर्ने गरेका थिए।
अन्य पक्राउ परेकाहरुमा इलाम, माइजोगमाइ–४ का २८ वर्षिय दुर्गा अधिकारी, सिन्धुपाल्चोक, पाखर गाउँपालिका–१ का ४२ वर्षिय सोनाम लामा, महोत्तरी, बर्दिवास नगरपालिका–३ का ५३ वर्षिय बुधे माझी, र वीरगंज–१६ का ३३ वर्षिय दिलिप कुमार ओझा रहेका छन्।
भारतीय नागरिकहरूमा बिहार राज्य, पूर्वी चम्पारण मोतिहारी जिल्ला, चिरैया थाना वडानं. ०६ घर भएका सुखाडी सहनी र उनका छोरा २० वर्षिय सरोज कुमार सहनी, मोतिहारी जिल्ला हरदिया बस्ने ५५ वर्षिय मो.रयाजुल, र समस्तीपुर मोहरी टोल बस्ने ३५ वर्षिय संजित पदार्थ रहेका छन्।
प्र.उ. खड्काका अनुसार, सिन्धुपाल्चोकका सोनाम लामाविरुद्ध चोरी तथा डाँका सम्बन्धी चारवटा मुद्दा चलिरहेका छन् भने महोत्तरीका बुधे माझीविरुद्ध कर्तव्य ज्यान, डाँका र अभद्र व्यवहारसम्बन्धी चारवटा मुद्दा रहेका छन्।
भारतीय नागरिक सुखाडी सहनीले स्थानीय व्यक्तिहरूसँग मिलेर ट्रान्सफर्मर चोरीको सूचना सङ्कलन गर्ने र त्यसपछि तामालाई वीरगंजमा रहेको कवाड पसलमा बेच्ने गरेको पाइएको छ।
विद्युत प्राधिकरणका अनुसार, ५० के.भी.को ट्रान्सफर्मर चोरी हुँदा करिब ४ लाख ५० हजार र १०० के.भी.को ट्रान्सफर्मर चोरी हुँदा करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति हुने गरेको छ। सर्लाहीमा १७ वटा ट्रान्सफर्मर चोरी हुँदा करिब एक करोड १० लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
उक्त गिरोहले स्थानीय कृषक र विद्युत प्राधिकरण दुवैलाई ठूलो आर्थिक क्षति पुर्‍याएकोले पक्राउ परेकाहरु उपर कानूनी प्रक्रिया अघि बढाइने प्र.उ. खडकाले पत्रकारहरुलाई जानकारी दिएका छन्।

No comments:

Post a Comment