मलंगवामा विवाह पञ्चमीको दिन तय गरिएको सामूहिक विवाह महाशिवरात्रीको दिन सारियो
मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर ३
मलंगवा नगर संरक्षण तथा सुधार समितिद्वारा आगामी विवाह पञ्चमीको अवसरमा आयोजना गर्न लागिएको सामूहिक विवाह कार्यक्रम महाशिवरात्रीका दिनमा सारिएको छ। समितिले विवाह पञ्चमीमा सामूहिक विवाह गराउने प्रतिबद्धता जनाए पनि आवश्यक उमेर नपुगेका जोडीहरू तथा केटी–केटा पक्षबीचको सहमति नजुटेको कारण कार्यक्रम अगाडि सारिएको जनाएको छ।
समितिका अध्यक्ष चन्दन सिंह राजपुतका अनुसार विवाह पञ्चमीअघि सम्पर्कमा आएका जोडीमध्ये अधिकांशको कानुनी विवाहयोग्य उमेर नपुगेको पाइएको छ। त्यस्तै, अभिभावक तथा दुवै पक्षबीच सम्बन्धित निर्णय नपुगेका कारण समयावधि थप्नुपर्ने अवस्था सिर्जना भएको छ।
अब यही महाशिवरात्रीका अवसरमा भव्य रूपमा सामूहिक विवाह आयोजना गरिने समितिले बताएको छ। नगरको सामाजिक सद्भाव, परम्परा र संस्कार जोगाउँदै सामूहिक विवाहलाई व्यवस्थित र सफल बनाउन नगरवासीको निरन्तर समर्थन आवश्यक रहेको समितिले जनाएको छ।
सामुहिक विवाह समारोह मलंगवा-८ स्थित मालपोत कार्यालय छेउमा रहेको सिताराम पोखरीको प्रांगणमा आयोजना गरिने बताइएको छ।
समितिले भनेको छ, “नगरवासीको आशीर्वाद र उत्साहले हामी अझ ऊर्जा, उमंग र उत्सवमय वातावरणमा सामूहिक विवाह कार्यक्रम सम्पन्न गर्नेछौं।”
No comments:
Post a Comment