प्रजिअ द्वारा आसन्न प्रतिनिधि सभा निर्वाचन तथा शितलहरको विषयमा सरोकारवालासँग छलफल सम्पन्न
मधेशदूत समाचारदाता----
सर्लाही, मंसिर ३
यही फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीको क्रममा मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासँग छलफल गरिएको छ।
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको मंगलबार आयोजित बैठकमा हाल रहेका मतदानस्थलहरूमा आवश्यकतानुसार स्थानान्तरण गर्नुपर्ने वा नयाँ मतदानस्थल थप गर्नुपर्नेबारे वडास्तरीय समितिलाई सिफारिस पठाउन निर्देशन दिइएको थियो।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहका अनुसार हाल यस जिल्लामा ३१२ वटा मतदानस्थल र ६०० वटा मतदान केन्द्रहरू सञ्चालनमा रहेका छन्।
जिप्रकाको सभाहलमा सम्पन्न भएको बैठकमा सरोकारवालाहरूले मतदान प्रक्रियालाई सहज, सुरक्षित र प्रभावकारी बनाउनका लागि विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए।
बैठक प्रजिअ रामुराज कडरियाको अध्यक्षतामा सम्पन्न भएको थियो।
सोही दिन उनकै अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको बैठकले प्रत्येक बर्ष खास गरी मंसिर देखि माघसम्म जाडो तथा शीतलहरबाट जनजीवन प्रभावित हुने गरेको र यसबाट सबैभन्दा बढी सीमान्कृत समुदाय, दलित, मुसहर समुदाय, इट्टाभट्टा मजदुर, बालबालिका, गर्भवती लगायत जोखिममा पर्ने गरेकाले सम्बन्धित स्थानीयतहबाट तथ्याङ्क संकलन गरी जोखिम क्षेत्रको नक्सांकन गर्ने निर्णय समेत गरेको कार्यालयले जनाएको छ।
No comments:
Post a Comment