Translate

Tuesday, November 25, 2025

पूर्व–पश्चिम राजमार्गको विकल्पको रूपमा उदाउँदै हुलाकी सडक निर्माण अधुरो भए पनि प्रयोग बढ्दै

 



मनोज यादव----
सर्लाही,मंसिर ९

   सर्लाहीको ग्रामीण भेग हुँदै गुज्रने हुलाकी सडक अहिले पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा परिचित हुँदै आएको छ। सडकमा दैनिक सवारीसाधनको चहलपहल उल्लेख्य रूपमा बढेको छ।
       -छोटो दूरी र सहज आवागमन
सदरमुकाम मलंगवाबाट नवलपुर हुँदै पूर्व–पश्चिम राजमार्ग हुँदै जनकपुरधाम, जलेश्वर र गौशालातर्फ जानेभन्दा हुलाकी सडक प्रयोग गर्दा दूरी कम हुने भएकाले यात्रुले यो मार्ग रोज्न थालेका छन्।
नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीका अनुसार, “हुलाकी सडकले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक आवागमनलाई सहज बनाएको छ।”
मलंगवाबाट सोझै जनकपुर र जलेश्वर
कबिलासी नगरपालिका गैर–निवासी बस चालक मनोज कुमार साह भन्छन्, “मलंगवाबाट संग्रामपुर र सम्सी हुँदै सोझै जनकपुरधाम र जलेश्वर पुग्न सकिन्छ। यसले समय र दूरी दुवै बचत गर्छ।” यही कारणले यात्रुहरू पूर्व–पश्चिम राजमार्गको सट्टा यो मार्ग रोज्न थालेका छन्।
निर्माणको अवस्थाः केही खण्ड पुरा, केही अधुरो
सर्लाही–महोत्तरीको सिमाना हर्दी खोलापछि सितलपुरदेखि रौतहटको सिमानासम्मको हुलाकी सडक कामचलाउ अवस्थामा भए पनि मलंगवाबाट जाने मुख्य खण्ड अझै निर्माणाधीन छ। लामो समय निर्माण ढिलाइ भएपछि स्थानीयले आन्दोलन गरी काम सुरु गराएका थिए। हाल मलंगवा नगरपालिका वडा नं. ९ देखि वडा नं. २ सम्मको सडक निर्माण जारी छ।
     -वैकल्पिक मार्गको महत्व
हुलाकी सडक पुरा भएपछि पूर्व–पश्चिम राजमार्गमा हुने जाम, भीडभाड र समय व्यर्थ हुनबाट बचाइनेछ। छोटो दूरी र ग्रामीण क्षेत्रसँगको सिधा कनेक्टिभिटीका कारण यस सडकले यात्रु र व्यापारी दुवैका लागि महत्वपूर्ण विकल्पको रूपमा स्थान बनाउँदै गएको छ।


No comments:

Post a Comment