मलंगवामा विवाहपञ्चमी : राम–जानकीको भव्य डोलायात्राले नगर धुमधाम
मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर ९
विवाहपञ्चमी पर्वको विशेष दिन मंगलबार सर्लाहीको सदरमुकाम मलंगवा भक्तिमय बनेको छ। दिउँसो निकालिएको राम–जानकीको डोलायात्राले नगरभरि उल्लास छाएको थियो।
मलंगवा नगर संरक्षण तथा सुधार समितिको आयोजनामा मलंगवा-८ श्रीराम चोकस्थित राम–जानकी मन्दिरबाट सुरु भएको डोला नगरका विभिन्न मार्ग हुँदै परम्परागत ढंगले परिक्रमा गराइएको थियो। डोलायात्रामा स्थानीयको उत्साहपूर्ण सहभागिता देखिन्थ्यो। बाजागाजा, भजन–कीर्तन, सांस्कृतिक झाँकी र भक्तजनको भीडले सम्पूर्ण नगरलाई पर्वमय बनाएको थियो। मार्गभरि स्थानीय नागरिकहरूले आ-आफ्नो घरअगाडि उभिएर यात्रालाई स्वागत गरेका थिए।
विवाहपञ्चमीको सांस्कृतिक महत्त्व उजागर गर्ने उद्देश्यले प्रत्येक वर्षझैँ यसपालि पनि व्यवस्थित रूपमा डोलायात्रा निकालिएको आयोजक समितिले जनाएको छ। सुरक्षा व्यवस्था कडा पारिएको र सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीय प्रशासनले जनाएको छ।
No comments:
Post a Comment