Translate

Tuesday, November 25, 2025

सर्लाहीमा थपिए २२ हजारभन्दा बढी नयाँ मतदाता , अनलाइन दर्ता भने अत्यधिक


मनोज यादव----

सर्लाही, मंसिर ९

    आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गर्दै सर्लाहीमा २२ हजार ५९५ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।
   गत असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी गरिएको मतदाता नामावली सम्बन्धी अध्यादेश पछि देशभर मतदाता नामावली दर्ता खुला गरिएको थियो। यसअघि चुनाव घोषणा भएसँगै नामावली दर्ता रोक्ने व्यवस्था रहे पनि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्दै दर्ता प्रक्रिया निरन्तर गरेको हो।
-६,५०० जनाले कार्यालयमै आएर गराए दर्ता
    मंसिर ५ गतेसम्मको अवधिमा नयाँ थपिएका मतदातामध्ये ६ हजार ५०० जनाले सदरमुकाम मलंगवास्थित जिल्ला निर्वाचन कार्यालयमै आएर दर्ता गराएका छन्।
जसमध्ये ३,६८१ पुरुष र २,८१९ महिला रहेका कार्यालय प्रमुख शिवनारायण साहले जानकारी दिए।
-अनलाइनबाट दर्ता गराउने झन्डै तीन गुणा बढी
   कुल २२ हजार ५९५ मध्ये १६ हजार ९५ जनाले अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रकै बायोमेट्रिक प्रयोग गर्दै मतदाता नामावलीमा नाम थपाएका छन्।
राष्ट्रिय परिचयपत्रका लागि लिइएको बायोमेट्रिकलाई मतदाता दर्तासँग जोडिएपछि सर्लाहीसहित धेरै जिल्लामा अनलाइन दर्ता लिनेको संख्या उल्लेख्य रूपमा बढेको प्रमुख साहको भनाइ छ।
   हाल अनलाइनमार्फत प्राप्त विवरणको प्रमाणीकरण तथा रुजु कार्य तीव्र गतिमा भइरहेको कार्यालयले जनाएको छ।
- मंसिर २१ देखि २७ गतेसम्म त्रुटि सच्याउने अवसर
   मतदाता नामावलीमा कुनै गल्ती परेमा मंसिर २१ गतेदेखि २७ गतेभित्र निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ।
  यसैगरी, १६ वर्ष पुगेपछि नागरिकता लिएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराए पनि आगामी निर्वाचनमा मतदान गर्न फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान यथावत रहेको कार्यालय प्रमुख साहले स्पष्ट पारेका छन्
-सर्लाहीमा  कुल मतदाता संख्या पाँच लाख नजिक
   यसअघि सर्लाहीमा ४ लाख ९० हजार ४ जनाको मतदाता नामावली थियो।
यसपटक थपिएका २२ हजार ५९५ सहित जिल्लाको मतदाता संख्या पाँच लाख नजिक पुगेको छ।


No comments:

Post a Comment