Translate

Tuesday, November 25, 2025

मलंगवाको ‘माल पोखरी´देखि सीताराम पोखरीसम्मको यात्रा स्थानीय युवाहरुको मेहनतले पाएको पुनर्जीवन

 


मनोज यादव----
सर्लाही, मंसिर ९

    सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित प्रशासनिक केन्द्रमा एउटा पोखरी छ ।पहिले जसको नाम लिँदा पनि मानिसहरूलाई दुर्गन्ध, फोहोर र अव्यवस्थाको याद दिलाउँथ्यो। त्यही पोखरी आज आफ्नो विगतलाई पछाडि छोडेर नयाँ पहिचान निर्माण गर्दैछ। 
    एक समय ‘शौच गर्ने ठाउँ’ भनेर बदनाम भएको "माल पोखरी" अहिले शहरकै सौन्दर्य र गौरवको रूपमा पुनर्जीवित भएको देख्दा त्यहाँ आउने जो–कोही आश्चर्यचकित हुन्छन्।
   यो पोखरीको परिवर्तन केवल स्वरूपकै होइन, मानसिकताको परिवर्तन पनि हो। पहिले मलपोत वा नापी कार्यालय जाँदा पोखरीतर्फ नहेरी हिँड्न बाध्य मानिसहरू अहिले त्यही किनारमा केही समय बस्न, हावा खान र मन शान्त पार्न रोक्किन्छन्। पोखरी सफा मात्र भएको छैन, यसको वातावरणले मानिसको दृष्टिकोणनै बदलिदिएको छ। यो पोखरी अहिले ‘सीताराम पोखरी’ भनेर चिनिन थालेको छ ।
    यो पोखरीलाई अहिलेको अवस्थासम्म ल्याउनमा स्थानीय युवाहरुको ठूलो हात छ। वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवालका अनुसार भर्खरै बितेको दिपावली र छठ पर्वको समयमा यहाँका केही स्थानीय युवाहरुले मलंगवा नगर संरक्षण तथा सुधार समिति मार्फत  पोखरीमा जताततै फैलिएका जलकुम्भी र फोहरहरु फालेर सरसफाइ गरेका थिए। सफा गरिएको उक्त पोखरीमा पहिलोपटक छठ पुजाको समेत आयोजना गरिएको थियो। समितिले नै सर्वसम्मतिबाट उक्त पोखरीको पुरानो नाम "माल पोखरी" लाई बदलेर धार्मिक महत्त्व झल्काउने " सीताराम पोखरी"नामांकन गरेको वडाअध्यक्ष जयसवालले बताए ।
   संघीय सरकारबाट आएको बजेटले पोखरीमा छठघाट निर्माण, किनारको सौन्दर्यकरण, बत्ती र संरचनात्मक सुधारले गर्दा पोखरीको रूप नै फेरिएको छ । विगतमा झाडी, फोहोर र दुर्गन्धले ढाकिएको ठाउँ आज धार्मिक, सामुदायिक र मनोरञ्जनात्मक स्थल बनेको छ। 
   पोखरी जोगाउनु र सुन्दर बनाउनु केवल नगरपालिकाको काम होइन भन्ने बुझेर युवाहरू  स्वयं अगाडि आएर स्थानीय युवा रञ्जित कुमार साह (पप्पु)को अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति गठन गरेर पोखरीलाई जोगाउने काममा लागेका छन् । समितिले पोखरी क्षेत्रको दैनिक सरसफाइ, रेखदेख, सुरक्षा र व्यवस्थापन लगायतका कामहरु गरिरहेका छन् ।
   सबैभन्दा रोचक कुरा, यो पोखरीमा आएको परिवर्तनले शहरमै नयाँ ऊर्जा भरेको छ। पोखरी क्षेत्रमा मर्निङ वाक गर्न आउने सरकारी कर्मचारी, बिहानबेलुकी घुम्न आउने युवायुवती, हात समातेर हिंड्ने दम्पती, पोखरी किनारमा खेलिरहेका बालबालिकाहरुको समूह दैनिक देख्न पाइन्छ ।
   वडाध्यक्ष जयसवालका अनुसार स्थानीयको सहभागिता नभएको भए माल पोखरी कहिल्यै ‘सीताराम पोखरी’मा बदलिन सक्दैनथ्यो।
आज जब मानिसहरू पोखरी नजिक पुग्छन्, उनीहरूको प्रतिक्रिया एउटै हुन्छ “पहिलेको पोखरी कहाँ छ !”
यो पोखरीले मलंगवाको पहिचान नै बदलिदिएको छ। युवाहरु रातदिनको मेहनतले आफ्नो सार्वजनिक सम्पत्तिलाई पुनर्जीवित गरिदिएको छ। सीताराम पोखरीले मलंगवा शहरको पहिचान र गौरव फर्काएको छ।

No comments:

Post a Comment