मलंगवामा आज मदिरा तथा माछा-मासु बिक्री वितरणमा रोक
मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर ९
विवाह पञ्चमीको शुभ अवसरमा मलंगवा नगरपालिकाले आज मंसिर ९ गते मंगलबार एक दिनका लागि नगरक्षेत्रभर मदिरा, माछा–मासु तथा पशुपन्छी बधमा रोक लगाउने निर्णय गरेको छ।
नगर कार्यपालिकाको कार्यालय, मलंगवाले जारी गरेको सूचनामा नगरभित्रका सबै सरोकारवाला व्यवसायीलाई उक्त दिन कुनै पनि प्रकारका पशुपन्छी तथा जीवजन्तुको बध, मदिरा तथा मासुजन्य वस्तुको बिक्री–वितरण नगर्न आग्रह गरिएको छ।
नगर प्रशासन शाखाका प्रमुख रामपुकार यादवद्वारा जारी सार्वजनिक सूचनामा विवाह पञ्चमीलाई शान्तिपूर्ण, धार्मिक र भक्ति भावसहित मनाउने उद्देश्यले यस्तो निर्णय लिइएको उल्लेख छ।
नगरपालिकाले स्थानीय व्यवसायीलाई सूचनाको पूर्ण पालना गर्ने आग्रह गर्दै विवाह पञ्चमीको शुभकामना व्यक्त गरेको छ।
No comments:
Post a Comment