Translate

Monday, November 24, 2025

अब कांग्रेस बचाउने ‘एक मात्र विकल्प’ – शेखर कोइराला नै सभापति: पूर्व सभापति लक्ष्मण राय

  


मधेशदूत समाचारदाता
सर्लाही, मंसिर ८

 नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण रायले पार्टी जटिल मोडमा पुगेको वर्तमान अवस्थामा सर्वसम्मत रूपमा डा. शेखर कोइरालालाई सभापति बनाउनु नै कांग्रेसलाई बचाउने एक मात्र विकल्प भएको जिकिर गरेका छन्।

  रायका अनुसार जेनजी आन्दोलनपछि देशमा सिर्जित राजनीतिक तनाव, अव्यवस्था र अनिश्चितताबाट मुलुकलाई निकाल्न सक्ने नेतृत्व डा. कोइरालामै देखिएको छ। “अब पार्टीलाई सही दिशामा लैजाने, विधि–प्रक्रियालाई पुनःस्थापित गर्ने र देशलाई स्थिरतामा फर्काउने नेतृत्व डा. कोइराला बाहेक अरूमा छैन,” रायले भने।
   उनले मुलुकको राजनीति ट्र्याकभन्दा बाहिर गएको टिप्पणी गर्दै कोइरालालाई सभापति बनाइए मात्र कांग्रेस र मुलुक दुबै स्थिरतामा फर्कने दाबी गरे। कोइराला परिवारको दीर्घ योगदान, राजनीतिक अनुभव तथा पार्टी हाँक्ने क्षमताको स्मरण गर्दै रायले उनको नेतृत्वमा कांग्रेस सुदृढ हुने विश्वास व्यक्त गरे।
   रायले पार्टीका महामन्त्री गगन थापा लगायत अन्य पूर्व पदाधिकारीलाई पनि जिम्मेवारीका साथ कोइरालालाई सभापति बनाउन सहयोग गर्न आग्रह गरे।
उनले भने, “सबैलाई सुनेर, सबैलाई लिएर अघि बढ्न सक्ने, बेदाग छवि भएका नेता कोइराला नै आजको परिस्थितिमा योग्य विकल्प हुनुहुन्छ।”
  जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई सही ठहर गर्दै रायले कोइराला सुशासन स्थापित गर्न सक्षम रहेको जोड दिए। पार्टी हाल सकसपूर्ण अवस्थामा रहेकोले सबै नेताले एकजुट भई डा. कोइरालालाई सभापति चयन गर्नुपर्ने रायको आग्रह छ।

No comments:

Post a Comment