Translate

Monday, November 24, 2025

गोडैता र बलरामा अन्तर्राष्ट्रिय बाल दिवस : जन्मदर्ता अभियान र बालविवाहमुक्त वडा घोषणाका लागि साइकल र्‍याली सम्पन्न

  



मधेशदूत समाचारदाता----
सर्लाही,मंसिर ८

    अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बिहीबार गोडैता र बलरा नगरपालिकामा बाल अधिकार सुरक्षाका उद्देश्यले दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन्। सेभ द चिल्ड्रेनको सहयोग तथा गोडैता र बलरा नगरपालिकाको समन्वयमा, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) मलंगवा, सर्लाहीद्वारा सञ्चालित समुन्नति कार्यक्रममार्फत यी गतिविधिहरू सञ्चालन गरिएको हो।
       "मेरो दिन, मेरो अधिकार" भन्ने नारासहित गोडैता नगरपालिका–११ को माधोपुर टोलमा जन्मदर्ता अभियन सफलतापूर्वक सम्पन्न गरिएको छ। दलित तथा अत्यन्तै विपन्न समुदाय बसोबास गर्ने सो क्षेत्रमा जन्मदर्ता नहुँदा बालबालिका सरकारी सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र कानुनी संरक्षणजस्ता अत्यावश्यक सेवाबाट बञ्चित हुँदै आएका थिए।
  समुदायको नेतृत्वमा सञ्चालन गरिएको अभियानमार्फत पहिचान गरिएका ४० मध्ये २६ जना जन्मदर्ताविहीन बालबालिकाको जन्मदर्ता प्रमाणपत्र बनाउन सफल भएको जनाइएको छ। बाँकी बालबालिकाका परिवारलाई आवश्यक कागजातसहित पुनः वडा कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ।
  नगरपालिका, वडा कार्यालय, वडा बाल अधिकार समिति तथा स्थानीय समुदायको सक्रिय सहकार्यमा सम्पन्न अभियानले बाल अधिकार सुनिश्चितता तथा सरकारी सेवामा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्।


     त्यसैदिन बलरा नगरपालिका–११ मा बालविवाहमुक्त वडा घोषणा गर्ने उद्देश्यले भव्य साइकल र्‍याली निकालिएको छ। "मेरो दिन, मेरो अधिकार" नारासहित गरिएको उक्त सचेतना र्‍यालीमा विद्यालय, बाल क्लब, वडा बाल अधिकार समिति तथा स्थानीय किशोरीहरूको ठूलो सहभागिता रहेको थियो।
   र्‍यालीमार्फत बालविवाहले बालबालिकाको स्वास्थ्य, शिक्षा र भविष्यमा पार्ने नकारात्मक प्रभावबारे जनचेतना फैलाइएकोे आयोजकहरू बताउँछन्। सहभागी किशोरीहरूले नाराबाजीसहित समुदाय, अभिभावक तथा स्थानीय सरकारलाई सुरक्षित र समान अवसरयुक्त वातावरण निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरे।
  कार्यक्रमले वडा भित्रका सरोकारवालाको ध्यान आकर्षित गरेको र आगामी दिनमा पनि यस्ता सचेतनामूलक गतिविधि निरन्तर संचालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, बाल अधिकार संरक्षण तथा बालविवाहमुक्त वडा घोषणा प्रक्रियालाई प्रभावकारी बनाउन सबै निकायको सहकार्य अपरिहार्य रहेको बताइएको छ।

No comments:

Post a Comment