Translate

Sunday, November 23, 2025

जनज्योति बहुमुखी क्याम्पसको २६औं वार्षिकोत्सव तथा ‘जनज्योति जर्नल’ विमोचन कार्यक्रम सम्पन्न

  



मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर ८

   जनज्योति बहुमुखी क्याम्पस, लालबन्दीले २६औं वार्षिकोत्सव तथा क्याम्पस सभा भव्य रूपमा सम्पन्न गरेको छ। क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारका पूर्व श्रम तथा यातायात व्यवस्था मन्त्री तथा प्रदेश सभा सदस्य बेची लुङ्गेली प्रमुख अतिथि तथा लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।
  उक्त कार्यक्रममा क्याम्पस प्रमुख बृन्दधर चौधरीले वि.सं. २०१७ मा स्थापना भएको जनज्योति क्याम्पसले वि.सं. २०७९ मा विश्वविद्यालय अनुदान आयोग (UGC) बाट गुणस्तर प्रत्यायन (Accreditation) प्राप्त गर्न सफल भएको उल्लेख गर्दै क्याम्पसको शैक्षिक प्रगति तथा भावी योजनाहरूको प्रस्तुतिका साथ सम्बोधन गरे ।
  यस अवसरमा क्याम्पसबाट प्रकाशित “जनज्योति जर्नल” को तेस्रो अंकको विमोचन समेत गरिएको थियो। अनुसन्धान व्यवस्थापन एकाई संयोजक तथा उपप्राध्यापक रमेश भट्टराईले उच्च शिक्षामा अनुसन्धानको अपरिहार्यताबारे प्रकाश पार्दै मधेश प्रदेशका सामुदायिक क्याम्पसहरूले DOI इन्डेक्सिङसहितका जर्नल प्रकाशित गरेर स्थानीय ज्ञान, सम्भावना तथा प्राज्ञिक क्षमतालाई विश्वसामु परिचित गराउने कार्यलाई महत्व दिए। उनले जर्नलबारे थप जानकारीका लागि अनलाइन (https://www.nepjol.info/index.php/ji)मा हेर्न सकिने जानकारी पनि दिए।
   कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लुङ्गेलीले क्याम्पसले सर्लाही मात्र होइन, सम्पूर्ण मधेश प्रदेशभरका विद्यार्थीहरूलाई प्रतिस्पर्धी दक्ष जनशक्ति बनाएर मुलुकको सेवामा अग्रसर गराइरहेको प्रशंसा गर्दै क्याम्पसप्रतिको विश्वास निरन्तर बढ्दै गएको बताइन् ।
  त्यस्तै, मेयर वासुदेव अधिकारीले स्थानीय क्षेत्रसँग सम्बन्धित अनुसन्धान तथा विकासमा क्याम्पसले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।
  कार्यक्रममा क्याम्पस सभा सदस्य, अक्षयकोष दाताहरू, स्थानीय शिक्षाप्रेमी, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
   यसै क्याम्पस सभाले प्राध्यापक  करार नियमनावली, आव २०८२/०८३ को अनुमानित आय–व्यय र आव २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन अनुमोदन गरेको क्याम्पसले जनाएको छ।
  शिक्षाप्रेमी बलराम पोखरेलले अब क्याम्पसले उत्कृष्ट विदेशी विश्वविद्यालयहरूसँग सहकार्य विस्तार गर्दै व्यवहारिक शिक्षामा अझ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
  करिब चार घण्टा सञ्चालन भएको कार्यक्रमको समापन गर्दै अध्यक्ष दीपक अधिकारीले क्याम्पसले आगामी दिनमा प्राविधिक धाराका नयाँ कार्यक्रम थप्दै शैक्षिक वातावरणलाई अझ प्रभावकारी र परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सञ्चालन उपप्राध्यापक बाबुराम दाहालले गरेका थिए ।

No comments:

Post a Comment