Translate

Wednesday, November 26, 2025

मलंगवा प्रादेशिक अस्पतालमा नयाँ मेसु डा. रामप्रकाश शाहद्वारा पदभार ग्रहण



मधेशदूत समाचारदाता---
मलंगवा,मंसिर ११

प्रादेशिक अस्पताल मलंगवाका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट (नि. मेसु) डा. रामप्रकाश शाहले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। हिजोदेखि उनले अस्पतालको नेतृत्व सम्हालेसँगै सेवा सुधारमा तत्काल प्रभाव पार्ने कदमहरू अघि बढाउने जनाएका छन्।

पदभार ग्रहणपछि डा. शाहले अस्पतालमै फार्मेसी सञ्चालनको प्रक्रियालाई तीव्रता दिने र सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराउने आफ्नो प्राथमिकता रहेको बताए। प्रसूति सेवा तथा दैनिक रूपमा हुने मेजर–माइनर शल्यक्रियाहरू अस्पतालमै दक्षतापूर्वक भइरहेको बताउँदै उनले आफ्नो नेतृत्वमा अझ प्रभावकारी बनाइने उल्लेख गरे।

अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरूलाई चुस्त–दुरुस्त बनाउँदै बाहिर जानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै डा. शाहले उपचारका लागि अन्यत्र धाउनुपर्ने अवस्थालाई क्रमिक रूपमा सुधार गर्ने बताए। यसका लागि अस्पतालको सम्पूर्ण चिकित्सा कर्मचारी, स्वास्थ्यकर्मी तथा प्रशासनिक टिमको सहकार्य जरुरी रहेको उनले स्पष्ट पारे।

डाक्टर शाहले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका त्रुटिलाई सुधार्दै सबै नागरिकलाई सहज र निःशुल्क उपचार सेवा दिलाउनेतर्फ अस्पताल अग्रसर रहने बताए। बढ़्दो जनसङ्ख्यालाई लक्षित गर्दै उनले गुणस्तरीय, गुनासोरहित सेवा सुनिश्चित गर्न सबैको साथ आवश्यक रहेको उल्लेख गरे।

डा. शाहले स्थानीय समुदाय र अस्पताल परिवारको संयुक्त सहकार्यले मात्र सेवाको स्तर माथि उठ्न सक्ने बताउँदै आफू त्यसैअनुसार अघि बढ्ने प्रतिवद्धता जनाए।

No comments:

Post a Comment