Translate

Sunday, November 30, 2025

धनकौलमा एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  


मधेशदूत समाचारदाता
सर्लाही, मंसिर १४

    सर्लाहीको धनकौल गाउँपालिका वडा न–२ मा एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मलंगवा र धनकौल गाउँपालिका वडा न-२ को संयुक्त पहलमा आयोजित शिविरमा स्थानीय किसानहरूले व्यापक रूपमा सहभागी भएर सेवा लिएका छन्।
  शनिवार विहान पशु शाखा कार्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा गाई–भैँसी, बाख्रा, बाच्छाबाच्छी तथा पाडापाडीका लागि गोबर परीक्षण, विभिन्न प्रकारका पशु उपचार, परजीवी नियन्त्रण सेवा, कुकुर–बिरालाका लागि खोप, गाई–भैँसीको बाँझोपन उपचार, बोका, संगुर–वंगुर र गोरुको बन्ध्याकरण तथा कृत्रिम गर्भाधानजस्ता सेवा निःशुल्क प्रदान गरिएको थियो।
   भेटेरिनरी अस्पतालका नि.कार्यालय प्रमुख डा.उपेन्द्र सिंहका अनुसार उक्त शिविरमा १० कठ्ठा पोखरीको माछासहित १०६ वटा गाई/गोरु, १९६ वटा राँगा /भैंसी, २४३ बोका/बाख्रा र १ वटा घोडाको जाँच गरिएको  थियो।
   त्यस्तै शिविरमा ल्याइएका २६३ वटा पशुलाई एफ.एम.डी खोप लगाइएको थियो भने २३६ वटा पशुको उपचार ,५५ वटाको गोबर परिक्षण र २ वटाको दुध परिक्षण गरिएको थियो। 
   यसअघि पनि लालबन्दी नगरपालिका–१६, परवानीपुर, इश्वरपुर नगरपालिका–११ र रामनगर गाउँपालिका–२ धुर्वामा पनि यस्ता शिविरहरू सफलतापूर्वक सञ्चालन भइसकेको उनले जानकारी दिए।
    यस्ता  शिविरमार्फत किसानहरूले आफ्नो गाउँ ठाउँमै नजिकबाट प्रभावकारी सेवा पाउने भएकाले पशु व्यवस्थापनमा ठूलो सहयोग पुगिरहेको धनकौल गाउँपालिकाका प्रमुख रामाश्रय प्रसाद साहले बताए ।
    सञ्चालित शिविरबाट स्थानीय पशुपालक किसानहरूले सहज, सुगम र गुणस्तरीय सेवा प्राप्त गरेको बताएका छन् ।

No comments:

Post a Comment