खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई भारतीय युवक पक्राउ
मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर १
सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरबाट खैरो हेरोइनजस्तो देखिने लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीको विशेष सूचनाका आधारमा शुक्रबार करिब साढे ३ बजेको समयमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सीतामढी जिल्लास्थित सोनवर्षा थाना अन्तर्गत कोबरवा निवासी २२ वर्षीय तसफी शेख र सोही जिल्लामा पर्ने बेला पंचायत, लहुरिया वडा नं. १०, खुर्साहा टोलका १९ वर्षीय फरहान राजा छन्।
प्रहरीले तसफी शेखले लगाएको अन्डरवेयरभित्र लुकाइराखिएको लगभग ११.९९ ग्राम खैरो हेरोइन जस्तो देखिने प्रतिबन्धित पदार्थ बरामद गरेको जनाएको छ। साथै उनीहरूको साथबाट दुई थान मोबाइल फोन पनि बरामद गरिएको छ।
पक्राउ परेकाहरु माथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सर्लाही जिल्ला अदालतबाट उनीहरूलाई ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।
No comments:
Post a Comment