अनलाइन सुविधासँगै निर्वाचन कार्यालयमा भीडभाड घट्यो
मतदान गर्न उत्साहित सर्लाहीका जनता
५ हजारभन्दा बढी नयाँ मतदाता थपिए
मनोज यादव----
सर्लाही, मंसिर २
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा मतदाता नामावली दर्ता अभियान तीव्र गतिमा अघि बढिरहेको छ। जिल्लामा असोज १२ गतेदेखि शनिबारसम्म पाँच हजार ६१३ जना नयाँ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहले लगातार सेवा सञ्चालन गर्दै दर्ताको संख्या बढ्दै गएको जानकारी दिएका छन् । उनका अनुसार शनिबारसमेत कार्यालय खोलेर ४९ जना सेवाग्राहीको मतदाता नामावलीमा नाम दर्ता गरिएको छ ।
थपिएका मतदातामध्ये तीन हजार २८९ पुरुष र दुई हजार ३२४ महिला रहेका छन्। अभियानको सुरुवाती चरणमै दैनिक आठ सय जनासम्म सेवाग्राही कार्यालय पुग्ने गरेको भए पनि हाल भीडभाड उल्लेख्य रूपमा घटेको छ।
राष्ट्रिय परिचयपत्र हुने नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्दा अब बायोमेट्रिकका लागि कार्यालय धाउन नपर्ने व्यवस्था लागू भएपछि कार्यालयमा भीडभाड कम भएको निर्वाचन अधिकारी साहले बताए।
“राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अनलाइन मार्फत नयाँ दर्ता प्रक्रियामा फाराम भरेपछि फेरि बायोमेट्रिकका लागि कार्यालय आउनुपर्दैन,” साहले भने, “यस सुविधाले सेवाग्राहीको समय बचेको छ र कार्यालयको चाप पनि घटेको छ।”
राष्ट्रिय परिचयपत्र बनाउने क्रममा लिइएको बायोमेट्रिक विवरण नै अनलाइन दर्तामा प्रयोग हुने भएकाले गाउँ–गाउँमा अनलाइनमार्फत दर्ता गरिदिने स्वयंसेवी तथा सामाजिक कार्यकर्ताको सक्रियता पनि बढेको छ।
अनलाइनमार्फत दर्ता गरिएको विवरण जिल्ला निर्वाचन कार्यालयले एक–दुई दिनभित्र एप्रुभ गर्ने बताइएको छ। दर्ता स्वीकृत भएपछि मोबाइलमा सन्देश आउने र फोनमै डाउनलोड गरी प्रिन्ट गर्न मिल्ने व्यवस्था गरिएको छ।
मतदाता दर्तामा देखिएको उत्साह र शुरुआती भीड व्यवस्थापन गर्न निर्वाचन आयोगले पाँच दिन म्याद थपेर मंसिर ५ गतेसम्म देशभर कार्यालयमा गएर वा अनलाइनमार्फत नाम दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ।
सुविधाजनक अनलाइन प्रणाली र बायोमेट्रिकका लागि कार्यालय नआउने प्रावधान भएपछि सर्लाहीमा मतदाता नामावली दर्ता प्रक्रिया झनै प्रभावकारी बन्दै गएको छ।
No comments:
Post a Comment