मलंगवा करदाता सेवा कार्यालयको सेवा निरन्तर जारी विभागबाट औपचारिक पत्र नआएसम्म सबै काम नियमितरूपमा जारी रहने
मधेशदूत समाचारदाता---
सर्लाही, कात्तिक २७
संघीय सरकारले देशभरका करदाता सेवा कार्यालय खारेज गर्ने तयारी अघि बढाए पनि सर्लाहीको मलंगवामा रहेको करदाता सेवा कार्यालयले भने सेवा निरन्तर जारी राखेको छ।
करदाता सेवा कार्यालय मलंगवाका प्रमुख तथा कर अधिकृत रास्ती कुमारी यादवका अनुसार कार्यालयले करसम्बन्धी सम्पूर्ण सेवा यथावत रूपमा प्रवाह गरिरहेको छ। उनले भनिन्, “विभागबाट कुनै औपचारिक पत्र नआएसम्म स्थायी लेखा नम्बर (PAN) वितरणदेखि करचुक्ता प्रमाणपत्र प्रदान गर्नेसम्मका सबै काम नियमित रूपमा भइरहेका छन्।”
आन्तरिक राजस्व विभागको वेबसाइटमार्फत केही दिनअघि करदाता सेवा कार्यालय खारेज गर्ने तयारीबारे सूचना जारी गरिएको थियो। उक्त सूचनामा करसम्बन्धी अधिकांश सेवा अब स्थानीय तह तथा कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत उपलब्ध गराइने उल्लेख छ। तर मलंगवा कार्यालयले उक्त निर्णयबारे कुनै आधिकारिक निर्देशन नआएकाले सेवामा कुनै अवरोध नआएको जनाएको छ।
सेवाग्राहीहरूले पनि कार्यालयले खुलेरै सेवा दिइरहेको जानकारी दिएका छन्। “कर्मचारीहरुबाट पनि पहिलेको जस्तै अहिले पनि फर्म भर्ने, कर बुझाउने र प्रमाणपत्र लिने सबै काम सहजै भइरहेको छ,” एक सेवाग्राहीले बताए।
यसैबीच,जिल्लाकै लालबन्दीमा रहेको करदाता सेवा कार्यालयले पनि यथावत रूपमा सेवा प्रवाह गरिरहेको जनाएको छ। लालबन्दीका कर अधिकृत विकास साहका अनुसार विभागबाट नयाँ निर्देशन नआएसम्म सेवा नियमित रूपमा चल्नेछ।
संघीय सरकारले कर प्रणालीलाई डिजिटल बनाउन थालेसँगै करदाता सेवा कार्यालयहरूलाई स्थानीय तह र लेखा नियन्त्रक कार्यालयमा समायोजन गर्ने तयारी गरेको बताइए पनि, हालसम्म मलंगवा र लालबन्दीका कार्यालयहरू पूर्ण रूपमा सञ्चालनमा रहेका छन्।
No comments:
Post a Comment