Translate

Thursday, November 13, 2025

सर्लाहीको पत्रकारितामा नयाँ रंग डिजिटल, लैङ्गिक संवेदनशीलता र गो ग्रिन पत्रकारिता

 




मधेशदूत समाचारदाता---
मलंगवा, कार्तिक २७

   सर्लाहीका पत्रकारहरूलाई डिजिटल युगसँग कदम मिलाउँदै जिम्मेवार र वातावरणमैत्री पत्रकारितातर्फ उन्मुख गराउने उद्देश्यसहित “डिजिटल पत्रकारिता, लैङ्गिक संवेदनशीलता र गो–ग्रीन पत्रकारिता” विषयक एक दिने विशेष तालिम मलंगवामा सम्पन्न भएको छ।
  सुनौलो सिसौट नेपालको आयोजनामा, इन्टरनेशनल एलर्टको सहयोग र नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वयमा भएको उक्त तालिमले स्थानीय पत्रकारहरूलाई नयाँ सीप र दृष्टिकोण प्रदान गरेको सहभागीहरूले बताएका छन्।


   बुधबार मलंगवास्थित होटल सुजाता एण्ड पार्टी प्यालेसमा सम्पन्न तालिममा राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले सहजीकरण गर्दै डिजिटल पत्रकारितामा आवश्यक दक्षता, सूचना सुरक्षाको महत्व र जिम्मेवार समाचार लेखनका आधुनिक प्रविधि बारे प्रशिक्षण दिएका थिए। उनले पत्रकारितामा लैङ्गिक सन्तुलन र वातावरणीय उत्तरदायित्वका अभ्यासलाई सशक्त बनाउनुपर्नेमा जोड दिए।
  कार्यक्रममा सहभागी पत्रकारहरूले मल्टिमिडिया सामग्री निर्माण, भिडियो र इन्फोग्राफिक्स उत्पादन, सामाजिक सञ्जालमार्फत सन्देश प्रवाहका प्रभावकारी तरिका लगायतका विषयमा व्यावहारिक सीप सिकेका थिए। साथै, लैङ्गिक समानता र सीमान्तकृत समुदायका आवाजलाई पत्रकारितामा प्राथमिकता दिनुपर्ने विषयमा समेत विस्तृत छलफल भएको थियो।
  तालिमको समापन सत्रमा प्रशिक्षक धर्मेन्द्र झासँगै इन्टरनेशनल एलर्टकी रविना श्रेष्ठ, सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप सिंह र पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुरले सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।
   तालिममा सहभागी पत्रकारहरूका अनुसार यस्तो तालिमले स्थानीय पत्रकारितामा नयाँ सोच, हरित दृष्टिकोण र सामाजिक उत्तरदायित्वको भावनालाई थप बल पुर्‍याउने छ। 

No comments:

Post a Comment