नेपाल–भारत सीमा नाका खुलेपछि सिमावर्ती क्षेत्रमा चहलपहल बढ्यो
मधेशदूत समाचारदाता---
मलंगवा, कात्तिक २७
विगत चार दिनदेखि अवरुद्ध रहेको नेपाल–भारत सीमा नाका बुधबार बिहानदेखि पुनः सञ्चालनमा आएपछि सिमावर्ती क्षेत्रमा चहलपहल बढेको छ। बिहार विधानसभा निर्वाचनका कारण बन्द गरिएको सर्लाही जिल्ला अन्तर्गतका सीमा नाकाहरू पुनः नियमित रूपमा सञ्चालनमा आएका हुन्। निर्वाचन प्रक्रिया सम्पन्न भएको मंगलबार साँझ देखिनै सिमानाका खोलिएको भएपनि मानिसहरुको आवतजावत भने बुधबार बिहानदेखि सुरु भएको प्रहरीले जनाएको छ।
भारतको बिहार राज्यमा शान्ति–सुरक्षाको दृष्टिले विशेष सतर्कता अपनाउँदै गएको शनिबार बिहान ७ बजेदेखि मलंगवासहित जिल्लाका त्रिभुवननगर , संग्रामपुर,भाँडसर, पकडी फेन्हारा,बलरालगायतका प्रमुख सीमा नाकाहरू बन्द गरिएको थियो।
नाकाहरू खुल्नेबित्तिकै सिमावर्ती भारतीय बजारहरुमा सामान किनमेल, आवतजावत र व्यापारीक गतिविधि बढेको छ। लामो अवरोधपछि सीमा खुल्दा दुवै देशका नागरिकले राहतको अनुभूति गरेका छन् ।
स्थानीय व्यवसायीहरूका अनुसार नाका बन्द रहँदा व्यापारिक कारोबारमा असर परेको थियो भने विभिन्न प्रयोजनका लागि दैनिक रूपमा भारततर्फ आवतजावत गर्ने सर्वसाधारणलाई पनि कठिनाइ भएको थियो। अहिले नाका खुलेपछि बजारमा फेरी पुरानो रौनक फर्किएको उनीहरूले बताएका छन्।
बिहारमा नोभेम्बर ११ तारिख अर्थात् मंगलबार दोस्रो चरणको विधानसभा निर्वाचन सम्पन्न भएको छ।
No comments:
Post a Comment