कृषि मन्त्रीले २ साता भित्र माग सम्बोधन गर्ने आश्वासन दिएपछि उखु किसान द्वारा आन्दोलन स्थगित
मधेशदूत समाचारदाता--
सर्लाही, मंसिर १५
सर्लाहीका उखु किसानले गर्ने भनेको आन्दोलन स्थगित गर्ने निर्णय लिएका छन्। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले दुई साताभित्र किसानको माग समाधान गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गर्ने निर्णय लिएका हुन्।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायका अनुसार, किसानले गत वर्ष २०८१/८२ को बाँकी अनुदान रकममध्ये प्रतिक्विन्टल ३५ रुपियाँ भुक्तानी गर्न र यस वर्ष २०८२/८३ को क्रसिङ सिजनका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गर्दै मन्त्री परियारसमक्ष ज्ञापनपत्र बुझाएका थिए।
मन्त्री परियारले माग सम्बोधनका लागि दुई हप्ताको समय माग गरेकाले तत्काल आन्दोलन स्थगित गरिएको अध्यक्ष रायले जनाएको छ। उखु किसानहरूले शनिवारसम्म माग सम्बोधन नभए आइतबारदेखि सर्लाहीको हरिवनमा अनिश्चितकालीन रूपमा पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्ने तयारी गरेका थिए। तीनवटा चिनी उद्योगहरु रहेको सर्लाहीमा उखु खेती व्यापक रूपमा हुने गरेको छ। यसै कारण अन्य जिल्लाको तुलनामा आन्दोलनको प्रारम्भ सर्लाहीबाटै गर्ने योजना महासंघको रहेको थियो।
सरकारले गत वर्ष उखु किसानलाई अनुदानबापत प्रतिक्विन्टल ७० रुपियाँ दिने निर्णय गरेको भए पनि ३५ रुपियाँ मात्रै भुक्तानी गरिएको र यस वर्ष अनुदानका लागि बजेट नै विनियोजन नभएपछि किसान चिन्तित छन्।
मन्त्री परियारले यस विषयमा प्रधानमन्त्रीसहित अन्य मन्त्री र मन्त्रालयका सचिवसँग छलफल गरी समाधान निकाल्ने बताएका छन्।
No comments:
Post a Comment