Translate

Saturday, November 1, 2025

हुलाकी राजमार्ग निर्माणको मागसहित मलंगवामा अनिश्चितकालीन बन्दको घोषणा

  

मधेशदूत समाचारदाता
सर्लाही, कात्तिक १६

    सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित श्री सिताराम पोखरीमा स्थानीय युवाहरू र निर्वाचित वडा अध्यक्षहरूको उपस्थितिमा ‘मलंगवा नगर संरक्षण तथा सुधार समिति’ गठन गर्दै विभिन्न निर्णयहरु गरिएको छ। समितिले हुलाकी राजमार्ग निर्माणको मागसहित अनिश्चितकालीन बन्दको घोषणा गरेको छ।
  नगरभित्रका विकासका मुद्दा, विशेषगरी हुलाकी राजमार्ग निर्माणमा भइरहेको ढिलासुस्तीविरुद्ध जनदबाब सिर्जना गर्न समितिले बुधबार बिहान ७ बजेदेखि राजश्री चौकमा बन्दको कार्यक्रम राखेको छ ।
   नगरभित्र शिक्षा, स्वास्थ्य, सरसफाइ र संरचनागत विकासमा सुधार ल्याउने उद्देश्यले गठन गरिएको समितिले मठ–मन्दिर, पोखरीजस्ता ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई समेत प्राथमिकता दिने निर्णय गरेको छ।
   यसै बैठकले आगामी मंसिर ९ गते विवाह पंचमीका अवसरमा श्री सिताराम पोखरी परिसरमा ११ जोडीको सामूहिक विवाह कार्यक्रमको आयोजना गर्ने पनि निर्णय गरेको समितिले जनाएको  छ।
   नगरको विकास, धार्मिक धरोहरको जगेर्ना र सामाजिक एकताको सन्देश फैलाउन यो समिति निरन्तर सक्रिय रहने समितिका सदस्यहरुले बताएका छन् ।
   स्थानीयवासीहरूले यो पहललाई स्वागत गर्दै नगर सुधार र हुलाकी राजमार्ग निर्माणको अभियानमा सबै पक्षलाई एकजुट हुन आग्रह गरेका छन्।

No comments:

Post a Comment