तुलसी–दामोदर विवाहसँगै हरिबोधनी एकादशी श्रद्धापूर्वक मनाइयो
मधेशदूत समाचारदाता----
सर्लाही, कात्तिक १६
सर्लाहीसहित देशभर कार्तिक शुक्ल एकादशीका दिन परेको हरिबोधनी एकादशी श्रद्धा र भक्तिभावका साथ मनाइएको छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु चार महिनापछि जाग्रत हुने धार्मिक विश्वास रहिआएकोले यसदिनको एकादशीलाई हरिबोधनी वा प्रवोधिनी एकादशी भनिन्छ।
हिजो सर्लाहीका विभिन्न मठ–मन्दिर, पोखरी लगायत तीर्थस्थलमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको थियो। भक्तहरूले चार महिनासम्म तुलसीको व्रत गरी आराधना गर्दै तुलसी र भगवान् दामोदर (विष्णु) को प्रतीकात्मक विवाह गरी विशेष पूजा आराधना गरेका छन् । घरघरमा रोपिएको तुलसीको मठ गाईको गोबर र रातो माटोले पोतेर, फूलमालाले सजाएर विधिपूर्वक विवाह संस्कार सम्पन्न गरिएको थियो । तुलसी विष्णुप्रिया भएकाले दामोदरसँग विवाह गर्ने परम्परा बसेको जनविश्वास छ।
गरुड पुराणका अनुसार भगवान् विष्णुलाई एक तुलसीपत्र अर्पण गर्दा दश हजार गाई दान गरे बराबरको पुण्य प्राप्त हुने बताइन्छ। आजकै दिन “गोविन्द उठ्नुस्, तपाईँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घण्टा र ढोल बजाएर विष्णुलाई जगाउने चलन रहँदै आएको छ।
सदरमुकाम मलंगवा, लालबन्दी, हरिवन, बरहथवा लगायत गाउँ-गाउँमा भक्तजनहरूले घर–घरमा तुलसी विवाह गरी व्रत र पूजा गरेका छन्। भक्तहरु आ-आफ्नो आँगनमा स्थापित गरेका तुलसी मठमा उखुको बोट, बाँसको डाँठ गाड्ने, फलाहार गर्ने र सखरखन्ड, पिँडालु, वनतरुल उसिनेर खाने परम्परा निर्वाह गरेका छन् । धर्मशास्त्रअनुसार यसदिनको व्रतले हजार अश्वमेध र राजसूय यज्ञ बराबरको फल प्रदान गर्ने, पाप नाश भई मोक्ष प्राप्त हुने विश्वास रहँदै आएको छ।
असार शुक्लदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु निद्रामा रहने भएकाले यस अवधिमा विवाहलगायत माङ्गलिक कार्य गरिंदैन। भगवान् विष्णु जाग्रत भएपछि पुनः शुभ कार्यका लागि उपयुक्त समयको आरम्भ हुने धार्मिक मान्यता रहेको छ।
No comments:
Post a Comment