Translate

Friday, October 31, 2025

छठका दुई तस्वीरले मच्चायो चर्चा, उठ्यो जातीय विभेदको प्रश्न

 



मधेशदूत समाचारदाता
सर्लाही, कात्तिक १४

    छठ पर्वका बेला खिचिएका दुई तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि जातीय र वर्गीय विभेदबारे चर्चा सुरु भएको छ।
    छठलाई आस्था, एकता र सद्भावको पर्व मानिन्छ। तर यस वर्षका यी दुई तस्वीरले समाजमा विभेद अझै जीवित रहेको देखाएको भन्दै आलोचना भइरहेका छन्।
     पहिलो तस्वीर : सर्लाहीकी रञ्जिता महतो
 सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगञ्ज टोलमा खुला आकाशमुनि छठ गर्दै गरेकी महिलाको तस्वीर भाइरल भयो।
सामाजिक सञ्जालमा यो तस्वीरसँगै ‘दलित भएकी कारण महिलाले छुट्टै घाटमा छठ गरिन्’ भन्ने दाबी गरियो।
   तर पछि ती महिला दलित नभई कोइरी (महतो) समुदायकी रञ्जिता महतो भएको खुलेको छ। उनले आर्थिक कारणले सामूहिक पण्डालमा नगई बाहिर खुला ठाउँमै पूजा गरेकी थिइन्।
   स्थानीय का अनुसार, हरेक वर्ष स्थानीयले चन्दा संकलन गरेर सामूहिक रूपमा छठ मनाउने गर्छन्।
“रञ्जिता दिदीले आर्थिक अभावका कारण चन्दा नतिरी अलग्गै पूजा गर्नुभएको हो, जातीय विभेद होइन,” कोइरालाले बताए।
  रञ्जिताले पनि आफूलाई कसैले रोक्न नआएको बताइन्। उनले भनिन्, “पैसा नभएकै कारण म खुला ठाउँमा बसेर पूजा गरेकी हुँ।”
     दोस्रो तस्वीर : रौतहटकी सोनमा देवी मल्लिक
   रौतहटको यमुनामाई नगरपालिका–३ राजपुर तुल्सी टोलमा डोम समुदायकी सोनमा देवी मल्लिक र उनकी छोरीको तस्वीर पनि भाइरल भयो।
तस्वीरमा उनीहरू खुला आकाशमुनि छठ गर्दै देखिन्छन् भने वरिपरि अन्य जातिका मानिसहरू पण्डालभित्र पूजा गरिरहेका छन्।
  सोनमाले भनिन्, “गतवर्ष पण्डालमा छुवाछुतको विवाद भएपछि यसपटक हामीलाई बस्न दिइएन।”
उनका अनुसार, तस्वीर भाइरल भएपछि गाउँलेहरूले उल्टै ‘झुटो बोल’ भनेर दबाब दिइरहेका छन्।
  छठ समिति अध्यक्ष सीताराम साहले भने यो दाबी अस्वीकार गर्दै भने, “उनीहरूले आफैं छुट्टै बस्ने चाहेका थिए, विभेद छैन।”
   सांस्कृतिक विज्ञका अनुसार, “छठ समानता र आस्थाको पर्व हो, तर यस्ता दृश्यले अझै समाजमा विभेद जीवित रहेको देखाउँछ।”
उनले भने, “हाम्रो समाजले अझै पनि वर्ण–जातको भित्तालाई तोड्न सकेको छैन। छठमै यस्तो दृश्य देखिनु लज्जास्पद र चिन्ताजनक हो।”
 पहिलो तस्वीर आर्थिक अभावको कारण छुट्टै पूजा गर्ने महिलाको थियो,
तर दोस्रो तस्वीरमा भने जातीय विभेदको आशंका बलियोसँग उठेको छ।
यी दुई घटनाले समाजमा अझै पनि समानता र संवेदनशीलताको आवश्यकता देखाएका छन्।

No comments:

Post a Comment