विकासको काममा नगरपालिका पछि हटेपछि युवाहरुले लिए जिम्मेवारी
मधेशदूत समाचारदाता
सर्लाही, कात्तिक १४
नगरपालिकाको चरम लापरबाहीका कारण विकासका काम ठप्प भएपछि स्थानीय युवाहरूले नै जिम्मेवारी सम्हाल्न थालेका छन्।
मलंगवा नगरपालिका वडा न–२ स्थित सन्त अल्पामाई रामनारायण प्राविधिक शिक्षालयदेखि वडा नम्बर–३ विश्वकर्मा चौकसम्मको सडकमा रहेको सानो पक्की पुलको बिच भाग भासिएर ठूलो खाल्टो बनेपछि दुर्घटनाको जोखिम बढेको थियो। सोही जोखिमलाई मध्यनजर गर्दै हिन्दु सम्राट सर्लाहीका सदस्यहरूले पुलको खाल्टोलाई अस्थायी मर्मत गरेर सावधानीका लागि बोर्ड राखेका छन्।
दैनिक सयौँ सवारीसाधनहरू गुड्ने उक्त सडकमा पुलको क्षति कारण ठूलो दुर्घटना हुने सम्भावना देखिएपछि युवाहरूले तत्कालको लागि पुर्ने काम गरि सावधान बोर्ड राखेका हुन्।
“नगरपालिकाले गर्नुपर्ने काम हामीले गर्नुपरेको छ,” हिन्दु सम्राट नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा यादवले भने, “हामीले तात्कालिक रूपमा समस्या समाधान गरेका हौं, तर नगरपालिकाले यथाशीघ्र स्थायी मर्मत गर्नुपर्छ।”
विगत लामो समयदेखि क्षतिग्रस्त अवस्थामा रहेको उक्त पुलको मर्मतमा न नगरपालिका न त निर्माण कम्पनीले नै चासो देखाएको भन्दै स्थानीयले असन्तोष व्यक्त गरेका छन्। नगरपालिकाको निष्क्रियता र जनताको सुरक्षाप्रति बेवास्ताका कारण स्थानीय युवाहरूले स्वेच्छिक रूपमा सो पहल गरेका हुन्।
यसअघि उनीहरूले छठ पुजाको लागि नगरपालिका क्षेत्रभित्रका विभिन्न वडामा रहेका पोखरी र तलाउहरुको पनि सरसफाइ गरिसकेका छन् ।
No comments:
Post a Comment