सुविधा सम्पन्न भनिएको प्रादेशिक अस्पताल मलंगवा व्यवहारमा सुविधा विहिन
मधेशदूत समाचारदाता —
सर्लाही, कात्तिक १३
सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवा नामका लागि ‘सुविधासम्पन्न’ भनिए पनि व्यवहारमा भने सेवाविहीन बन्दै गएको छ। अक्सिजन प्लान्ट, डाइलेसिस मेसिन र सिटी स्क्यानजस्ता महत्वपूर्ण स्वास्थ्य उपकरण र सेवा बन्द हुँदा बिरामीहरू उपचारविहीन भएका छन्।
कोभिड–१९ महामारीको समयमा अत्यावश्यक अक्सिजन आपूर्तिका लागि स्थापना गरिएको अक्सिजन प्लान्ट केही समय सञ्चालनमा आए पनि अहिले पूर्णरूपमा बन्द भएको छ। लामो समयदेखि सञ्चालन नभएपछि मेसिन र उपकरणहरू कवाडमा परिणत हुने अवस्थामा पुगेका छन्। मर्मत र व्यवस्थापनको अभावमा लाखौं रुपैयाँ लगानीमा जडान गरिएको प्लान्ट प्रयोग विहिन बनेको स्थानीयले बताएका छन्।
त्यस्तै, डाइलेसिस सेवा पनि उद्घाटन भएदेखिनै संचालनमा आएको छैन । बिरामीको उपचारका लागि ल्याइएका मेसिनहरू कोठाभित्र थन्क्याएर ताल्चा लगाइएको छ। सेवा लिन आएका मृगौला रोगीहरू अन्य जिल्लाका अस्पताल धाउन बाध्य छन्।
अस्पतालमा सिटी स्क्यान मेसिन पनि उपलब्ध छ, तर त्यसलाई सञ्चालन गर्ने प्राविधिक नहुँदा सेवा सुरु हुन सकेको छैन। बिरामीहरू निजी क्लिनिकमा बढी शुल्क तिरेर उपचार गर्न विवश छन्।
स्थानीयवासीहरू भन्छन्, “अस्पतालमा भवन र मेसिन त छन्, तर सेवा छैन। जनताको करको पैसा खर्चेर ल्याइएका उपकरणहरुमा धुलो जमेको छ, तर यसप्रति कसैलाई चासो छैन।”
उता अस्पताल प्रशासनले जनशक्ति र बजेट अभावका कारण सेवा सञ्चालनमा कठिनाइ भएको बताउँदै आइरहेको छ। तर यतिबेला मुख्य प्रश्न उस्तै छ । सुविधा सम्पन्न भनिएको अस्पतालबाट बिरामीले सुविधा उपभोग गर्न पाएका छैनन् ,यसको जिम्मेवार को ?
स्थानीयबासी ,समाजसेवी र जनप्रतिनिधिहरूले तत्काल समस्याको समाधान गरी अस्पतालका उपकरणहर पुनः सञ्चालनमा ल्याउन प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
No comments:
Post a Comment