गोडैतामा वडाध्यक्ष दासको पक्राउविरुद्ध बजार बन्द, मेयर देवेन्द्र यादवले भने– ‘निर्दोष जनप्रतिनिधिलाई फसाइएको हो’
वडाध्यक्ष विनेश कुमार दासमधेशदूत समाचारदाता––
सर्लाही, असोज २३
सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेश कुमार दासको पक्राउ विरुद्ध बुधबार गोडैता बजार बन्द गरिएको छ। वडाअध्यक्ष दास समर्थक स्थानीयवासीहरूले प्रहरी कारबाहीको विरोध गर्दै उनको तत्काल रिहाइको माग गर्दै गोडैता बजार क्षेत्र पुर्णरुपमा बन्द गरेका हुन् ।
स्थानीयले बजार बन्द गर्दै नाराबाजीसमेत गरेका छन्। उनीहरूका अनुसार वडाध्यक्ष दासलाई प्रहरीकै निर्देशनमा विवाद मिलाउन बोलाइएपछि पक्राउ गरिएको हो। स्थानीयको भनाइमा, “दुई पक्षबीचको विवाद समाधान गर्न पुगेका निर्वाचित जनप्रतिनिधिलाई उल्टै दोषी बनाएर पक्राउ गर्नु न्यायको अपमान हो।”
गोडैता न.पा का नगरप्रमुख देबेन्द्र यादवले वडाध्यक्ष दास निर्दोष भएको दाबी गर्दै पक्राउ प्रति तीव्र आपत्ति जनाएका छन् । उनले भने, “यस घटनामा वडाध्यक्षको कुनै संलग्नता छैन। उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाइएको हो। प्रहरीलाई वास्तविक दोषी पहिचान गरेर मात्र कारबाही गर्न आग्रह गर्छौं।”
नगरप्रमुख यादवका अनुसार दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा विवाद भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र खडकाले नै वडाध्यक्ष दासलाई विवाद मिलाउन चौकीमा जान अनुरोध गरेका थिए। “वडाध्यक्ष दास प्रहरीकै अनुरोधमा गए, तर उनलाई दोषी देखाउन भिडियोको केही अंश प्रयोग गरेर झूटो आरोप लगाइयो,” यादवले बताए।
प्रहरीका अनुसार भने असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमाथि ढुंगामुढा र कुटपिट हुँदा वडाध्यक्षकै नेतृत्वमा समूह पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनामा चौकी इन्चार्ज सइ अवधेश प्रसाद यादवसहित पाँच जना प्रहरी घाइते भएको दाबी प्रहरीले गरेको छ।
हाल वडाध्यक्ष दासलाई कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी अभियोगमा सर्लाही जिल्ला अदालतबाट ३ दिनको म्याद थप गराई अनुसंधान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी गराएको छ।
तर, स्थानीयवासी र नगरप्रमुख यादव दुबै पक्षले प्रहरीको दाबी एकपक्षीय रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। घटनापछि गोडैता प्रहरी चौकीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
No comments:
Post a Comment