Translate

Thursday, October 9, 2025

रौतहटको कटहरिया नगरपालिकामा करार कर्मचारीहरु तलब नपाएपछि धर्नामा

 



दिपेश कुमार शाह 
 रौतहट, असोज २३

  रौतहटको कटहरिया नगरपालिकामा लामो समयदेखि तलब नपाएका करार कर्मचारीहरूले बिहीबारदेखि कार्यालय परिसरमै धर्ना सुरु गरेका छन्। तलबका लागि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले कार्यालयको मुख्य ढोका अगाडि ‘जबसम्म बाँकी तलब मिल्दैन, तबसम्म तल्ला खुल्दैन !’ भन्ने नारा लगाउँदै विरोध जनाएका छन्।
  धर्नामा वडा नं. १ का अध्यक्ष भुपेन्द्र महतो, वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं. ७ का अध्यक्ष समिस शाह, सदस्य तथा कार्यवाहक अध्यक्ष दिलिप यादव लगायत स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले करार कर्मचारीहरूको मागलाई समर्थन जनाउँदै तत्काल समस्या समाधान गर्न नगर प्रमुख र प्रशासनलाई आग्रह गरे।
आन्दोलनरत कर्मचारीहरूले भनेका छन्,
“हाम्रो पसिना खाएर नगरपालिका मौन बस्न पाउँदैन। अब हाम्रो हक अधिकारका लागि हामी सडकदेखि कार्यालयसम्म लड्नेछौं।”
  धर्नाका कारण नगरपालिकाको दैनिक प्रशासनिक कामकाज ठप्प बनेको छ। कर्मचारीहरूले तलबलाई आफ्नो अधिकार बताउँदै चेतावनी दिएका छन् ,“तलब हाम्रो अधिकार हो, दया होइन। अब ढिलाइ भए आन्दोलन अझ व्यापक हुनेछ।”
 यसैबीच, कटहरिया नगर प्रमुख अजय प्रकाश जैसवालले पनि प्रशासनिक निकायप्रति असन्तुष्टि व्यक्त गर्दै गम्भीर आरोप लगाएका छन्। उनले भने,“हरेक वर्ष ५, ६, ७, ८ र १० करोड रुपैयाँसम्मको बजेट केन्द्रबाट पास हुन्छ, तर त्यो रकम कहाँ जान्छ भन्ने स्पष्ट छैन। हाकिमहरू जिम्मेवार हुनुपर्छ।”
  उनका अनुसार, केन्द्रबाट अनुमोदित करार कर्मचारीहरूलाई हटाउने कार्य भइरहेको छ, जसलाई उनले “गैरकानुनी निर्णय” भन्दै आलोचना गरे। “यस्ता निर्णयकै कारण तलब दिनुपर्ने अवस्था नै बाँकी छैन,” मेयर जैसवालले भने।
  कटहरिया न.पामा हाल स्थायी सभा भवन नहुँदा श्री जनता माध्यमिक विद्यालयमा अस्थायी रूपमा बैठकहरू सञ्चालन हुँदै आएका छन्। तर पछिल्लो विवाद र आन्दोलनका कारण नगरपालिकाको प्रशासनिक वातावरण अस्थिर र तनावपूर्ण बनेको छ। 
  कर्मचारीहरूले नगर नेतृत्वमाथि पारदर्शिताको अभाव र वित्तीय अनियमितताको आरोप पनि लगाएका छन्। उनीहरूको भनाइ छ,“हामीले कहिल्यै समयमा तलब पाएका छैनौं, तर मिडियामा भने प्रगति देखाउने खेल मात्र हुन्छ।तर नगरको वास्तविकता अर्कै छ।”
  धर्ना प्रदर्शनका कारण स्थानीय प्रशासन र नगर नेतृत्वबीच विश्वासको संकट समेत गहिरिँदै गएको छ। स्थानीय नागरिकहरूले प्रदेश र संघीय सरकारलाई अपिल गर्दै भनेका छन् , “कटहरिया नगरपालिकामा देखिएको वित्तीय अनियमितता र कर्मचारी शोषणमा तत्काल छानबिन गरियोस्।”


No comments:

Post a Comment