सेभ द चिल्ड्रेनको सहयोगमा आर.आर पि.के द्वारा सर्लाहीका ५ सय भन्दाबढी बाढीपीडित घरपरिवारलाई राहत वितरण
मधेशदूत समाचारदाता---
सर्लाही, असोज २४
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) मलंगवाको साझेदारीमा सर्लाहीका विभिन्न बाढीपीडित क्षेत्रहरूमा राहत सामाग्री वितरण गरिएको छ।
संस्थाले सोमबारदेखि बुधबारसम्म तीन दिनको अवधिमा जिल्लाको बलरा नगरपालिका र कौडेना गाउँपालिकाका जम्मा ५२९ बाढीपीडित घरपरिवारलाई राहत सामाग्री वितरण गरेको हो।
सोमबार बलरा नगरपालिका वडा नं. १ र ३ मा नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाको उपस्थितिमा वडा नं. ९, अचलगढस्थित सिताराम सामुदायिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा १०० घरपरिवारलाई राहत वितरण गरिएको थियो।
त्यसैगरी मंगलबार कौडेना गाउँपालिका वडा नं. ७, शिवनगरमा वडाअध्यक्ष विजय यादवको उपस्थितिमा १८५ घरपरिवारलाई राहत वितरण गरिएको छ।
बुधबार पुनः बलरा नगरपालिकाका वडा नं. १, २, ३, ४, ९, १० र ११ मा गरी २४४ घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो।
प्रत्येक परिवारलाई सेल्टर कीट सेट, भाँडाबर्तनसहितको किचेन सेट, स्वास्थ्यका लागि हाइजेनिक कीट, गर्भवती महिलाका लागि स्वच्छता सामाग्री (डिग्निटी कीट), ० देखि ५ वर्षसम्मका बच्चाका लागि बेबी प्याक, एलुमिनियम म्याट, दुई थान झुल र समर ब्ल्यांकेट लगायतका सामग्री प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले जानकारी दिए।
साहका अनुसार राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले यसअघि पनि विपद्को समयमा विभिन्न माध्यमबाट सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगात्मक गतिविधि निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।
No comments:
Post a Comment