महिला तथा बालबालिका कल्याण समाज मलंगवाको १५औं वार्षिक साधारण सभा सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही, असोज २६
महिला तथा बालबालिका कल्याण समाज, मलंगवाको १५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको सभा हल, मलंगवामा सम्पन्न सो कार्यक्रममा संस्थाकी अध्यक्ष अमृता कुमारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा संस्थाका प्राविधिक सल्लाहकार अमरेन्द्र रायले आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले सर्लाहीका विभिन्न स्थानीय तहमा सञ्चालन गरेका कार्यक्रम र प्राप्त प्रगतिका बारेमा विस्तृत जानकारी प्रस्तुत गरे। उनका अनुसार संस्थाले “नवशिशु जीवन सुरक्षा सम्बन्धी अध्ययन कार्यक्रम” जिल्लाका सात वटा स्थानीय तहका १२ वटा स्वास्थ्य संस्थामा सञ्चालन गर्दै आएको छ।
उक्त कार्यक्रम अन्तर्गत गोडैता नगरपालिकाको सिसौटिया प्रसूति केन्द्र, कौडेना गाउँपालिकाको फुलपरासी सामुदायिक अस्पताल, चक्रघट्टा गाउँपालिकाको सुन्दरपुर स्वास्थ्य चौकी, कबिलासी नगरपालिकाको जमुनिया बर्थिङ सेन्टर, ब्रम्हपुरी गाउँपालिकाको नोकैल्वा बर्थिङ सेन्टर र बसबरिया गाउँपालिकाको सहोडवा बर्थिङ सेन्टरमा सञ्चालन भइरहेको छ।
सो आर्थिक वर्षमा संस्थाले “Essential New Born Care Training” तालिम पनि सञ्चालन गरेको थियो। साथै सर्लाही जिल्लाको स्वास्थ्य अवस्थाको विस्तृत विवरण समेटिएको स्वास्थ्य वृत्तचित्र समेत तयार गरिएको उनले जानकारी दिए।
त्यसैगरी, संस्थाले काठमाडौँ जिल्लाको नागार्जुन नगरपालिका र सितापाईलामा प्राथमिक उपचार सम्बन्धी तालिम समेत सञ्चालन गरेको थियो।
कार्यक्रममा संस्थाका सचिव उपेन्द्र चौधरीले आगामी आर्थिक वर्षका योजना सार्वजनिक गर्दै महिलाको स्वास्थ्य, सामाजिक चेतना र सशक्तिकरणका साथै किशोरी तथा बालिकाको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।
उनका अनुसार आगामी वर्ष संस्थाले बालिका शिक्षा प्रवर्द्धनका लागि शैक्षिक सामग्री वितरण, सचेतना मुलक तालिम, विद्यालय जान छोडेका बालिकालाई शिपमूलक तालिम प्रदान गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्ने र सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय र सहकार्यमा काम गर्ने योजना रहेको छ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनिषा खातुन, कोषाध्यक्ष पुजा कुमारी यादव, सदस्यहरू, स्थानीय सरोकारवाला र पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।
No comments:
Post a Comment