Translate

Sunday, October 12, 2025

पानीमै फल्ने सिँगडा : लोप हुँदै गएको स्वाद सिँगडा बेचेर दैनिक १५ सयदेखि २ हजार आम्दानी

 



मनोज यादव----
 सर्लाही,असोज २६

    एक समय तराईका पोखरी र तलाउमा हरियो पातले ढाकिएको सिँगडा खेती देखिन्थ्यो। चाडपर्वको बेला भाँडाभाँडामा पकाइने, भगवानलाई चढाइने र पाहुनालाई पाहुर पठाइने सिँगडा आज दुर्लभ बन्दै गएको छ। पोखरी मासिँदै गएपछि पानीमै फल्ने यो मौसमी फल अहिले बजारमा किन्नै मुस्किल भएको छ।
  तर सर्लाहीको सदरमुकाम मलंगवामा घुम्दै सिँगडा बिक्री गर्ने भारत निवासी  रताउल राइन कवाडीले भने यो खेतीबाटै राम्रो आम्दानी कमाइरहेका छन्। उनी भन्छन्, “म दैनिक १५ सयदेखि २ हजार रुपैयाँसम्म सिँगडा बेचेर कमाउँछु। अहिले बजारमा किलोको १ सय रुपैयाँमा बिक्री हुन्छ, भारतमा भने यो १६० भारु मा बिक्री हुन्छ"।
   रताउलका अनुसार अहिले पनि केही उत्साही किसानहरूले पानी जम्ने खेत भाडामा लिएर सिँगडा खेती गर्छन्। उनले मलंगवाकै वडा नं. २ मा एउटा खाली घान खेत भाडामा लिएर सिँगडा खेती सुरु गरेका छन्। “पहिले भारतबाट बिउ ल्याउनुपर्छ, रोपिसकेपछि पटक–पटक औषधि हाल्नुपर्छ, चराचुरुङ्गीले खान खोज्छन्, त्यसैले हेरचाहमा निकै मेहनत लाग्छ,” उनले भने।
    सिँगडा खेतीमा धेरै खर्च लाग्दैन। असारमा रोपिएको सिँगडा करिब तीन महिनामा टिप्न लायक बन्छ। असोजदेखि कात्तिकसम्म यसको मुख्य सिजन हुन्छ र यो फागुनसम्म बिक्री गर्न सकिन्छ। रताउल भन्छन्, “मेहनत त पक्कै लाग्छ, तर घाटा हुँदैन। बजारमा माग राम्रो छ।”
  पोखरी लोपसँगै घट्दो खेती
तराईका अधिकांश गाउँहरूमा पहिले घर–घर नजिकै सिँगडाको पोखरी हुन्थ्यो। अहिले ती पोखरी पुरिँदै गएपछि सिँगडा खेती हराउँदै गएको कृषि प्राविधिकहरूको भनाइ छ। उनीहरूका अनुसार, सिँगडा खेती गर्ने किसान घट्नुको कारणमा पोखरीको कमी, बीउको अभाव, र चराचुरुङ्गीले खाने समस्या प्रमुख छन्।
  सिँगडा खेती गर्न पानीभित्र पसेर काम गर्नुपर्ने भएकाले पनि धेरै किसान यो पेसाबाट पछि हटिरहेका छन्।  किसानहरू भन्छन्, “दिनभर पानीमा बस्नुपर्ने, शरीरमा रोग लाग्ने डर हुन्छ, त्यसैले धेरैलाई कठिन लाग्छ।”
  सर्लाहीमा अहिले कति किसान सिँगडा खेती गर्छन् भन्ने यकिन तथ्यांक कृषि ज्ञान केन्द्रसँग पनि छैन। तर बजारमा सिँगडाको माग भने  देखिन्छ। ठूलो एकादशीजस्ता, करवाचौथ जस्ता पर्वमा बजारम उपभोक्ताको भीडनै लाग्ने गर्छ।
   सिँगडा खेती हराउँदै जाँदा परम्परागत स्वाद पनि हराउँदै गएको छ। पोखरी पुनर्जीवन र सिँगडा खेती प्रवर्द्धन गर्न सके यो खेतीले न केवल स्थानीय संस्कृतिलाई जोगाउनेछ, बरु किसानको आम्दानीको स्रोत पनि बन्न सक्छ।


No comments:

Post a Comment