Translate

Monday, October 13, 2025

मलंगवामा दिनकर हस्पिटलद्वारा निसन्तानपनबारे जानकारीमूलक सेमिनार सम्पन्न, अब स्थानीयमै काठमाडौँस्तरको सेवा उपलब्ध

 





मनोज यादव —
सर्लाही, असोज २७ 

   दिनकर हस्पिटल मलंगवाको आयोजनामा निसन्तानपन (Infertility) सम्बन्धी जानकारीमूलक सेमिनार सम्पन्न भएको छ। स्वास्थ्य क्षेत्रमा कार्यरत सर्लाही र भारतका स्वास्थ्यकर्मीहरूलाई आधुनिक प्रजनन उपचार र निसन्तानपनका कारणबारे विस्तृत जानकारी दिन आइतवार मलंगवा–८ स्थित कुशुम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो।


   कार्यक्रममा Maya IVF Clinic की वरिष्ठ स्त्रीरोग तथा प्रजनन विशेषज्ञ डा. रश्मि श्रीश  र डा. समा श्रेष्ठले सहभागीहरुलाई निसन्तानपनको समस्या, यसको उपचारका नयाँ प्रविधि र नेपालमै उपलब्ध समाधानका उपायबारे प्रस्तुति दिनुभएको थियो। उक्त क्लिनिकले स्त्रीरोग तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा विभिन्न सेवा जस्तै स्त्री रोग परीक्षण, निःसन्तानपन परामर्श, गर्भावस्था चेकजाँच, अल्ट्रासाउण्ड (USG/TVS/Anomaly/SD), ट्यूब परीक्षण, आइ यू आइ (IUI), टेस्ट ट्यूब बेबी (IVF–PICSI, ICSI, Blastocyst Culture & Transfer), पूर्व–प्रत्यारोपण आनुवंशिक परीक्षण, पुरुष बाझोपन उपचार (TESE, PESA, MESA), लेजर ह्याचिङ, डिम्ब–शुक्राणु–भ्रूण फ्रिजिङ, हिस्टेरोस्कोपी/ल्याप्रोस्कोपी लगायतका सेवा प्रदान गर्दै आएको छ। हालसम्म ७ हजारभन्दा बढी बिरामीको सफल उपचार गरिसकेको Maya IVF Clinic नेपालका अग्रणी प्रजनन स्वास्थ्य संस्थामध्ये एक मानिन्छ।


   दिनकर हस्पिटलका संचालक डा. सरोज कुमार यादवका अनुसार सन्तान प्राप्तिको इच्छा लिएर वर्षौंदेखि विभिन्न ठाउँमा भौतारिँदै आएका दम्पतीलाई अब काठमाडौँ जानु नपर्ने भएको छ। उनका भनाइमा, “मलंगवामै काठमाडौँस्तरको सेवा उपलब्ध गराउन हामीले Maya IVF Clinic सँग सहकार्य सुरु गरेका छौं, जसबाट स्थानीय बिरामीलाई सहज, सस्तो र गुणस्तरीय उपचार उपलब्ध हुनेछ।”
   सम्झौता अनुसार आइतवार डा. श्रीश र डा. श्रेष्ठको टोलीले मलंगवा स्थित दिनकर हस्पिटलमा ४५ जना र बरहथवास्थित हजरियामा ३० जना निसन्तान दम्पतीको नि:शुल्क जाँच तथा परामर्श सेवा प्रदान गरेको थियो। आगामी दिनमा डाक्टरहरूको टोली महिनामा दुईपटक सेवा दिन आउने र अन्य दिनहरूमा पनि अस्पतालमार्फत जाँच तथा परामर्श जारी रहने जनाइएको छ।
   सेमिनारको क्रममा नजिकिँदै गरेको शुभ दीपावली र छठ पर्वको अवसरमा सहभागीहरूबीच शुभकामना आदान–प्रदान पनि गरिएको थियो।
   ५० भन्दा बढी स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको सेमिनारलाई सहभागीहरूले उपलब्धिमूलक र जानकारीपूर्ण भएको प्रतिक्रिया दिएका थिए।


No comments:

Post a Comment