Translate

Friday, October 10, 2025

“भारतमा सस्तो सामान, नेपालमा सुस्त व्यापार” मूल्य अभिवृद्धि कर घटेपछि सीमापारी बजारतर्फ उपभोक्ताको आकर्षण बढ्दो

 

मनोज यादव----

सर्लाही, असोज २४ 

    चाडपर्वको रौनक नजिकिँदै गर्दा सर्लाहीका बजारहरूमा ग्राहकको भीड घट्दै गएको छ, तर सीमापारी भारतीय बजार सोनवर्षा, मेजरगंज र सितामढीमा भने नेपाली उपभोक्ताको भीड दिनप्रतिदिन बढ्दो छ। भारत सरकारले आफ्नै उत्पादनमा मूल्य अभिवृद्धि कर (जिएसटी) घटाएपछि नेपाली बजारहरूमा यसको प्रत्यक्ष असर देखिन थालेको हो।
  अब सानोदेखि ठूलो सामान किन्ने उपभोक्ता समेत सस्तो मूल्यको खोजीमा सीमापारी दौडिरहेका छन्। सर्लाहीको कौडेना गाउँपालिका–३, मोतिपुरका जितेन्द्र यादव पनि यस्तै उपभोक्तामध्ये एक हुन्। उनले तिहार र छठ पर्वलाई लक्षित गरी सोनवर्षाबाट कपडा र अन्य दैनिक उपभोग्य सामग्री खरिद गरेका छन्।
“यहाँका तुलनामा उता ३० देखि ४० प्रतिशत सस्तोमा सामान पाइन्छ,” यादव भन्छन्, “पारी सामान किन्दा पैसाको राम्रो बचत हुन्छ, त्यसैले हामी सोनवर्षा गएका हौं।”
   त्यस्तै, महिला अधिकारकर्मी संगीता परियारका अनुसार नेपाली बजारमा लत्ता-कपडा र खाद्यान्नदेखि लिएर सामान्य दैनिक उपभोग्य वस्तुसम्म महँगो हुँदा आम उपभोक्ता सीमापारी आकर्षित भएका हुन्।
उनले भनिन्, “यहाँका व्यापारीहरूले चाडपर्वको मौका पारेर कृत्रिम अभाव सिर्जना गर्छन्। एकै किसिमको सामानको मूल्य फरक–फरक लिन्छन्, जसले सर्वसाधारणलाई भारततर्फ आकर्षित गरेको  हो।”


  भारतीय बजारमा नेपाली उपभोक्ताको उपस्थिति यति बढेको छ कि सिमापारी हनुमान चौक (सोनवर्षा) का किराना व्यापारी पप्पु कुमारले खुलेर भन्छन्, “हाम्रो व्यापार ९० प्रतिशत नेपाली ग्राहककै कारण चलेको छ।”
   नेपालका बजारहरू भने मन्दीमा छन्। मलंगवा, हरिपुर, लालबन्दी, हरिवन, बरहथवा, नयाँरोड र बयलबासजस्ता बजारका व्यापारीहरू आफ्नो व्यापार सुस्ताउँदै गएको भन्दै चिन्तित छन्। उनीहरूका अनुसार,पारीतर्फ सामान सस्तो  पाइने भएपछि ग्राहकहरू नेपालमै किनमेल गर्न इच्छुक छैनन्।
त्यसमाथि, भारतमा चाडपर्व नजिकिँदै गर्दा छुट र अफरको आकर्षणले पनि नेपाली ग्राहकलाई लोभ्याएको छ। बजारमा दिपावली र छठको किनमेल गर्ने भीड देखिए पनि त्यो भीड अहिले भारतीय बजारतर्फ  छ।
  सर्लाहीका एक व्यापारी भन्छन्, “नेपालमा कर, ढुवानी र नाफा सबै जोड्दा उपभोक्तालाई महँगो पर्छ। सरकारले कर प्रणालीमै सुधार नगरेसम्म नेपाली बजार जोगिन सक्दैन।”
   चाडपर्वको बेला हुनुपर्ने उत्साह र रौनक अहिले सीमापारी बजारमा केन्द्रित छ। मलंगवाबाट लिएर सोनवर्षासम्मको बाटोमा बिहानदेखि साँझसम्म उपभोक्ताको भीड नै देखिन्छ।


No comments:

Post a Comment