Translate

Friday, October 10, 2025

धरौटीमा रिहा भए जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव अन्याय र भ्रष्टाचारविरुद्ध बोलेको कारण राज्यले मुद्दा हालेको दाबी

  


मनोज यादव–––
सर्लाही, असोज २४

    जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादव अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन्।
  यादवलाई राजद्रोह, सार्वजनिक सेवा अवरोध र आपराधिक उपद्रव सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतले बिहीबार एक लाख ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासबाट आदेश जारी भएको अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले जानकारी दिए।
  यादवलाई प्रहरीले गत भदौ २५ गते सर्लाहीको सलेमपुरबाट नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार उनी माथि जेन–जी आन्दोलनको नाममा अराजक गतिविधि बढाएको आरोप थियो। हिरासतमा रहेका बेला यादवकी आमाको निधन भएपछि उनलाई असोज ३ गते आमाको काजकिरिया गर्नका लागि अस्थायी रूपमा छाडिएको थियो।
   काजकिरिया सम्पन्न गरी बिहीबार यादव आफैं जिल्ला अदालत मलंगवामा उपस्थित भएका थिए। अदालतले राजद्रोह मुद्दामा एक लाख र बाँकी दुई मुद्दामा ३०/३० हजार धरौटी तोकेर रिहा गर्ने आदेश दिएको हो।
  रिहा भएपछि यादवले प्रतिक्रिया दिंदै  भने, “अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा उल्टै राज्यले ममाथि मुद्दा चलायो, तर अन्ततः अदालतले न्याय दिएको छ।”
   यादवको गिरफ्तारीको विरोधमा जसपाका नेता–कार्यकर्ताले मलंगवा,सलेमपुरलगायतका स्थानहरूमा विरोध प्रदर्शन गरेका थिए।
  रिहाइपछि यादवलाई सयौं समर्थकहरूले फूलमाला र अबिर लगाएर स्वागत गर्दै सलेमपुरस्थित उनको निवाससम्म पुर्‍याएका थिए।


No comments:

Post a Comment