Translate

Friday, October 10, 2025

ग्रामीण नारी उत्थान संघको ३३औं वार्षिक साधारण सभा सम्पन्न



मधेशदूत समाचारदाता-
सर्लाही,असोज २४

   सर्लाहीको हरिपुर नगरपालिका–२ मा रहेको ग्रामीण नारी उत्थान संघको ३३औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। संघको कार्यालय परिसरमा आयोजित सभामा अध्यक्ष गोमा देवी न्यौपानेको अध्यक्षता तथा संविधानसभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्य रहेको थियो।
   कार्यक्रममा हरिपुर नगर प्रमुख गोपाल पजियार, उप–प्रमुख निलम देवी राय, वडा अध्यक्षहरू, उद्योग वाणिज्य संघ हरिपुरका अध्यक्ष शंकर दाहाल, ईलाका प्रहरी कार्यालय हरिपुरका प्रमुख रोमन राज अर्याल, र नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुर लगायतको सहभागिता रहेको थियो।
  संघका सचिव सूर्य चालिसेले संघले गत आर्थिक वर्षमा गरेको क्रियाकलाप र खर्च विवरण सार्वजनिक गर्दै विभिन्न परियोजनाहरूको प्रगति प्रस्तुत गर्नुभयो। उनका अनुसार संघले सेभ द चिल्ड्रेनको सहयोगमा सम्मुनति, पहुँच, सिडा/संकल्प र सीएफएम परियोजनाहरू सञ्चालन गरिरहेको छ।
   आर्थिक वर्ष ०८१/०८२ मा सम्मुनति परियोजना मार्फत ६ करोड ५ लाख १४ हजार २६७ रुपैयाँ, पहुँच परियोजना मार्फत ८१ लाख ८३ हजार ४७७ रुपैयाँ, सिडा/संकल्प परियोजना मार्फत ३३ लाख ८१ हजार ५७४ रुपैयाँ र सीएफएम परियोजना अन्तर्गत १ करोड ५८ लाख ८९ हजार ९६ रुपैयाँ खर्च भएको जनाइएको छ।
   त्यस्तै, ग्राउण्डस्वेल इन्टरनेशनलको सहयोगमा सञ्चालित परिस्थितिक कृषि आधारित जीविकोपार्जन परियोजना मार्फत २७ लाख २४ हजार ५२३ रुपैयाँ खर्च भएको संघले जनाएको छ। संघको आन्तरिक बजेट खर्च २४ लाख २७ हजार ७७७ रुपैयाँ रहेको उपाध्यक्ष विष्णु प्रसाद चालिसेले जानकारी दिनुभयो।
   कार्यक्रमका अवसरमा संस्थाका उत्कृष्ट कार्यसमिति सदस्य तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। कार्यसमिति तर्फ टिक माया राई, र सदस्य तर्फ नम्रता ढुंगाना, शर्मिला बी.के., रहमती खातुन, शैलिया देवी कथबनिया र गिता बस्नेतलाई सम्मानपत्र प्रदान गरिएको थियो। त्यस्तै, कृष्णराज घिमिरे, सुजाता शर्मा र भिमराज कुमारलाई वर्षको उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो।
  कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोपाल पजियारले संघले कृषि, शिक्षा, रोजगार र सामाजिक विकासका क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले संघको सक्रियताले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुगेको उल्लेख गर्नुभयो।
   त्यस्तै, प्रमुख अतिथि रामचन्द्र चौधरीले ग्रामीण नारी उत्थान संघको कार्यले स्थानीय सरकारका लागि पनि काम गर्न सहज भएको बताउँदै, “साधन स्रोतको अभावका कारण कतिपय काममा स्थानीय तहलाई चुनौती आउँछ, तर संघले सहयोग पुर्‍याउँदा ती चुनौती कम भएका छन्,” भन्नुभयो।
   चौधरीले केही समय अघि पानीको हाहाकारका बीच संस्थाले प्रभावकारी काम गरेको भन्दै संघको भूमिका अझ सबल र प्रभावकारी बनेको बताउनुभयो।

No comments:

Post a Comment