बाल पोषण अनुुदानसँग सम्बन्धि अभिभावक बुुवा सचेतना कार्यक्रम सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही, असोज २५
सर्लाहीको लालबन्दीमा बाल–संवेदनशील अभिभावकत्वसम्बन्धी एक दिने सहजकर्ता तालीम कार्यक्रम सम्पन्न भएको छ।
घरका अभिभावकका रूपमा रहेका हेरचाह र पालन–पोषणका जिम्मेवारी वहन गर्ने अभिभावकलाई बालबालिकाको हेरचाह र पोषणमा सचेत बनाउनका लागि सो कार्यक्रम आयोजित गरिएको हो।
सर्लाहीको हरिपुर–२ मा रहेको ग्रामीण नारी उत्थान संघको आयोजनामा सम्पन्न उक्त तालीममा ईश्वरपुर र हरिपुर नगरपालिकाका ३१ जना सहजकर्ताहरू सहभागी भएका थिए। कार्यक्रम सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित पहुँच परियोजना अन्तर्गत आयोजना गरिएको हो।
परियोजनाका प्रमुख आशिष रेग्मीका अनुसार उक्त तालीमले सहभागी सहजकर्ताहरूमा आत्मविश्वास अभिवृद्धि गरी समुदायस्तरमा बाल–संवेदनशील अभिभावकत्व कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ।
सेभ द चिल्ड्रेनकी परियोजना संयोजक अनिता तामाङले सहभागीहरूलाई ‘सुनौलो पल’ अवधारणामार्फत बालबालिकाको हेरचाह, शारीरिक तथा मानसिक विकासमा ध्यान दिने तरिका र व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभयो।
संघका सचिव सूर्य चालिसेले पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको विकास संवेदनशील हुने भएकाले अभिभावकले पर्याप्त समय र माया दिनु अत्यावश्यक हुने बताउनुभयो।
त्यस्तै, उपाध्यक्ष विष्णु चालिसेले बालबालिकाको जिज्ञासा बुझेर सिकाउने र समय दिने बानीले उनीहरूको व्यक्तित्व विकासमा ठूलो भूमिका खेल्ने धारणा राख्नुभयो।
संघकी अध्यक्ष गोमा देवी न्यौपानेले सानै उमेरदेखि फलफूल तथा घरमै पकाइएको पोषणयुक्त खाना खुवाउने बानी बसाल्न सके बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो।
सन् २०२२ देखि सञ्चालनमा रहेको पहुँच परियोजनाले महिला, बालबालिका तथा सामाजिक सुरक्षासम्बन्धी क्षेत्रमा कार्य गर्दै आएको छ। उक्त परियोजनाले ईश्वरपुर र हरिपुर नगरपालिकामा पाँच वर्ष मुनिका बालबालिका, जेष्ठ नागरिक, एकल महिला, बिधवा तथा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
No comments:
Post a Comment