मुख्य चाडपर्व सकिएसँगै सर्लाहीमा धान भित्र्याउने चटारो
उषा किरण पोखरेल----
सर्लाही,कात्तिक १२
तिहार र छठजस्ता मुख्य चाडपर्व सकिएसँगै सर्लाहीका किसानहरू अहिले धान भित्र्याउने चटारोमा छन्। असारको अन्त्य र साउनको सुरुवातमा रोपाइँ गरिएको धान अहिले पाकिसकेकाले खेत–खेतमा काट्ने तथा झार्ने काम तीव्र बनेको छ।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहाका अनुसार जिल्लामा अहिले चाँडो पाक्ने जात (अर्ली भेराइटी) का धान काट्ने समय आएको छ। उनले भने, “सिंचाइ सुविधा कम भएका क्षेत्रमा चाँडो पाक्ने जात लगाइएकाले अहिले किसानहरू कटाइमा व्यस्त छन्, तर अधिकांश किसानले मध्यम वा ढिलो पाक्ने जात लगाएकाले उनीहरूको धान अझै पाक्न बाँकी रहेको छ"।
उनका अनुसार जिल्लाको चुरेवर्ती क्षेत्रमा आकाशे वर्षाको भरमा खेती हुने भएकाले त्यहाँका किसानहरूले प्रायः चाँडो पाक्ने जातको धान रोज्ने गर्छन्।
लालबन्दी नगरपालिका वडा न-१७, रानीगंजका किसान गोपाल अधिकारीले भने, “खडेरीका कारण रोपाइँमा ढिलाइ भए पनि त्यसपछिका पानीले धान राम्रो भएको छ। अहिले खेतमै मेसिन पुगेकाले धान काट्न र भित्र्याउन सजिलो भएको छ।
सर्लाहीका बागमती सिंचाइ आयोजना, विभिन्न खोलाको पानी र विद्युत मोटरमार्फत सिंचाइ हुने क्षेत्रहरूमा भने ढिलो पाक्ने धान लगाइएकाले ती क्षेत्रका किसानहरूले अझै कटाइ सुरु गरेका छैनन्। ब्रह्मपुरी गाउँपालिका वडा न–६ का किसान फकिरा रायका अनुसार छठ पर्व सकिएकोले दक्षिणी बेल्टका किसानहरू धान भित्र्याउने तयारीमा छन्।
मध्य असोजमा परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणी भेगका केही क्षेत्रमा धान बाली डुबानमा परेपछि त्यहाँको उत्पादनमा केही असर पर्ने अनुमान कृषि ज्ञान केन्द्र सर्लाहीले गरेको छ।
No comments:
Post a Comment