Translate

Wednesday, October 29, 2025

उदाउँदो सूर्यलाई अर्घ दिँदै यसवर्षको छठ पर्व सम्पन्न



मधेशदूत समाचारदाता---
सर्लाही,कात्तिक १२

   उदाउँदो सूर्यलाई अर्घ दिँदै यसवर्षको छठ पर्व विधिवत् रुपमा मंगलबार सम्पन्न भएको छ । 
   यस पर्वमा तलाउ, पोखरी वा नदी छेउमा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानलाई प्रसादको रुपमा भगवान सूर्यलाई अर्घ दिने गरिन्छ।
   भगवान सूर्यलाई प्रसादको रुपमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी लगायत अन्य विभिन्न किसिमका वनस्पतिहरु साथै माटोको हात्ती,कलश, सूप, कनसुपती लगायतका सामाग्रीहरु चढाइने गरिन्छ। 


    सूर्यलाई दिइने अर्घ्यमा ठेकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धा एवं निष्ठापूर्वक यो पर्व मनाइन्छ ।
   चारदिनसम्म चल्ने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोश्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने, तेश्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ। छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ दिने दिनलाई सँझिया घाट र अन्तिम दिन अर्थात उदाउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ । पारनको दिन सूर्यदेवलाई चढाएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा छठ नहुनेहरुलाई प्रसादको रुपमा वितरण गर्ने सामाजिक परम्परा रहेको छ। 


   मलंगवाका संस्कृतिविज्ञ उग्रकान्त झाका अनुसार छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जुन यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटो स्वीकार गर्नुृ हो ।
  धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिएको छ ।
     कबिलासी नगरपालिका वडा न-९ का वडाअध्यक्ष दिनेश रायका अनुसार आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्बर विहीनताको परिचयसँगै श्रम प्रतिको सम्मानको परिचायक मानिन्छ । 
   सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।
छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।


No comments:

Post a Comment