Translate

Wednesday, October 29, 2025

सामाजिक सुरक्षा भत्ता रोकिएका कारण बसबरियाका ज्येष्ठ नागरिक छठमा निराश



मधेशदूत समाचारदाता----
सर्लाही, कात्तिक १२

    सर्लाहीको बसबरिया गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण रोकिएपछि स्थानीय ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरू छठ पर्वमा पनि आर्थिक अभावको मारमा परेका छन् । सरकारले लक्षित समूहका लागि उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता समयमै नपाउँदा लाभग्राहीहरू उत्सवको बेला निराश बनेका छन्।   
  गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट अहिलेसम्म पारित हुन नसक्दा भत्ता वितरण प्रक्रियामा समेत असर परेको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले तिहारअघि नै रकम निकासा गरे पनि गाउँपालिकाबाट आवश्यक पत्राचार ढिलो भएपछि लाभग्राहीले रकम झिक्न नपाएको बताएको छ ।
  कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईंका अनुसार गाउँपालिकाको पत्र ढिलो आएको कारण रकम वितरण प्रक्रियामा ढिलाइ भएको हो । उनका अनुसार, सामाजिक सुरक्षा भत्ता बजेट पारितमा अड्किनुपर्ने विषय होइन । “पालिकाले सिफारिस गर्ने बित्तिकै रकम वितरण गर्न सकिन्छ, तर यहाँ पत्र नै ढिलो आयो,” गुरागाईंले बताए ।
  उता, गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले भने पालिकाभित्रको आन्तरिक विवादका कारण कामकाज प्रभावित भएको स्वीकार गरेका छन् । उनका अनुसार, बजेट पारितका लागि पटक–पटक गाउँ सभा बोलाउने प्रयास भए पनि जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा समस्या झन् जटिल बन्दै गएको छ ।
  लामो समयदेखि चलिरहेको राजनीतिक द्वन्द्वले प्रशासनिक प्रक्रिया रोकिँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । भत्ता नै मुख्य स्रोतका रूपमा निर्भर लाभग्राहीहरूले भत्ता नपाउँदा छठजस्तो ठूला चाडपर्व आर्थिक अभावमा बितेको गुनासो गरेका छन् ।
“हामीजस्ता वृद्धवृद्धा भत्तामै जीवन चलाउँछौं, तर यसपालि त्यो पनि रोकियो,” बसबरियाकी ७२ वर्षीया कौशल्या देवीले गुनासो गरिन् । उनी जस्तै सयौं लाभग्राहीको छठ पर्व आर्थिक अभावका कारण खल्लो बनेको छ ।
   स्थानीयवासीको भनाइमा, सामाजिक सुरक्षा भत्ता वितरण जस्तो संवेदनशील विषयमा जनप्रतिनिधि र प्रशासन दुबै जिम्मेवार हुनुपर्ने बेला उल्टै आरोप–प्रत्यारोपमा रमाइरहेका छन् । उनीहरूले तत्काल भत्ता वितरण गरेर लाभग्राहीलाई राहत दिन सरकारसँग माग गरेका छन् ।

No comments:

Post a Comment